आन्दोलनकारी माथि गोली र अश्रुग्यास प्रहार, १३ सक्त घाइते « Yalambar Times
५ बैशाख २०८१, बुधबार

आन्दोलनकारी माथि गोली र अश्रुग्यास प्रहार, १३ सक्त घाइते


यलम्वर टाइम्स
१४ चैत्र २०७९, मंगलवार १२:४९

बिराटनगर । कोशी प्रदेशको नाम विरुद्ध प्रदर्शनमा उत्रिएका केही आन्दोलनकारीहरुलाई प्रहरीले रबरको गोली प्रहार गरी सक्त घाइते बनाएका छन् ।

रेडशेष चोक नजिक बिग होटलमा एक एनजीओले आयोजना गरेको कार्यक्रममा प्रदेशका सांसदहरु उपस्थित रहेको बेला प्रदर्शनकारीले नाराबाजी गर्दा प्रहरीले अश्रृग्यास, रबरको गोली र लाठी चार्ज गरेको थियो ।

झडपमा रबरका गोली र लाठी चार्जबाट १३ जना घाइते भएको प्रदेश नं. १ पुनः नामाङ्कन संघर्ष समितिले जनाएको छ ।

गोली लाग्नेमा सुरज राई सक्त घाइते भएका छन् भने अशोक राई, उदय लिम्बू पनि लाठी चार्जबाट मरणासन्न भएका छन् ।

त्यस्तै पदम केरुङ्ग, शिव आङदाम्बे, ज्ञानप्रसाद राई, एके दर्नाल, विशाल राई, पद्यमलाल लिम्बू, आस्था राई, रेशम राई, रोयल राई, बिमल किराती आदिको टाउको, खुट्टा र हातमा चोट लागेको बताइएको छ ।
कोशी नाम व्यानर सच्याउनुपर्ने जस्ता माग राख्दै अगाडि बढ्दा कसैलाई बिराटनगरबाट, कसैलाई सुनसरीको तरहराबाट पक्राउ गरी पिटेको जनाएका छन् ।

विभिन्न स्थानमा भएको झडपमा २५ भन्दा बढी घाइते भएको संघर्ष समिति सदस्य एलबी पालुङ्वाले बताएका छन् ।