प्रदेशस्तरीय तेस्रो मि. ग्यालेक्सीको तयारी तीब्र « Yalambar Times
८ बैशाख २०८१, शनिबार

प्रदेशस्तरीय तेस्रो मि. ग्यालेक्सीको तयारी तीब्र


यलम्वर टाइम्स
१९ चैत्र २०७९, आईतवार १२:१३

बिर्तामोड । यही चैत २४ र २५ गते हुने प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

आइतबार ग्यालेक्सी फिटनेश बिर्तामोडद्वारा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता प्रि–जजिङ र फाइनल राउण्ड गरी दुइ चरणमा हुनेछ ।

आयोजकका अनुसार चैत २४ गते बिर्तामोड स्थित अतिथि सदनमा तौल समूहका खेलाडीहरु बीच प्रतिस्पर्धा गराइने छ भने २५ गते कृष्ण टाँकिजमा फाइनल सम्पन्न हुनेछ ।

‘पहिलो चरणमा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ’ ग्यालेक्सी फिटनेशका सञ्चालक तथा आयोजक समिति कोषाध्यक्ष चन्द्र राना ‘लाफा’ ले भने, ‘तौल समूहका बिजेता ओभरअल फाइनल राउण्डका लागि प्रवेश गर्नेछन् ।’

लाफाका अनुसार तौल समूहका दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल प्रदान गरिनेछ ।

प्रतियोगितामा प्रदेश नं. १ भरीका एक सय ५० बढी खेलाडीले सहभागिता जनाउने आयोजक समितिका सचिव केशव श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले प्रतियोगिताबारे जानकारी दिँदै फाइनलमा ओभरल विजेताले नगद रु. २ लाख सहित मेडल, ट्रफि र विभिन्न पुरस्कार प्राप्त गर्ने बताए ।

त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु. एक लाख २५ हजार, तेस्रो हुनेले नगद रु. ७५ हजार, चौथो हुनेले ५० हजार र पाँचौ हुनेले नगद रु. ३० हजारसहित ट्रफि, मेडल र विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गर्ने छन् ।

आयोजकले वेस्ट पोजर र मोट मस्कुलरलाई नगद रु. १०–१० हजारसहित ट्रफि र मेडल प्रदान गर्ने भएको जनाएको छ ।

बडिबिल्डिङको क्षेत्रमा पूर्वमा आफूलाई स्थापित गरिसकेको सो प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा जयकुमार सप्लार्यस एण्ड ट्रेडर्स र पाँचथर गहना गृह रहेका छन् भने प्रायोजकमा पूजा थापा र जेट्ली सिंगर रहेका छन् ।

प्रतियोगितामा प्रदेश नं. १ का उत्कृष्ठ ५ खेलाडीलाई सम्मान गरिने छ भने सोही बेला महिला खेलाडीहरुबाट डेमोस्ट्रेसन प्रस्तुत गरिने कोषाध्यक्ष लाफाले बताए । पत्रकार सम्मेलनमा प्रतियोगितालाई सम्पन्न गर्न १५ लाख रुपैयाँ बढी खर्च लाग्ने बताइएको छ ।

आयोजक समितिका वरिष्ठ उपाध्यक्ष रोहित गजमेरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रतन लिम्बू, संरक्षक कल्पना मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने सचिव श्रेष्ठले गरेका थिए ।