सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने


यलम्वर टाइम्स
२० चैत्र २०७९, सोमबार ०९:५४

बिर्तामोड । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् ।

त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ म्याराथनमा भाग लिने छिन् ।

सहारा हाफ म्याराथन भोलि चैत २१ गते बिर्तामोडको चारपानेमा हुँदैछ । सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

भण्डारीले प्रथम बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्दै १३ औँ सागको टाइमिङ तोडेकी थिइन् ।

उनले सागमा राखेको २ घण्टा ५० मिनेट ११ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेन्डले सुधार गरेकी हुन् । उनले सन् २०२२ को सोही म्याराथनमा भने कास्य पदक जितेकी थिइन् ।

श्रेष्ठले पोखरामा २ घण्टा ५७ मिनेट २३ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारेकी थिइन् । बिन्द्रा सो बेला पहिलोपटक राष्ट्रिय खेलकुदको म्याराथनमा सहभागी भएकी थिइन् ।

उनले यसअघि मध्यम दूरीमा प्रतिस्पर्धा गर्दै आएकी थिइन् । लामो समयदेखि ट्र्याक एन्ड फिल्डमा सक्रिय रहेकी बिन्द्राकी ९ वर्षीय छोरीसमेत छिन् । उनी बंगबन्धुमा तेस्रो भएकी थिइन् ।

प्रतियोगितामा भेट्रान्स कीर्तिमानी धावक धर्म महर्जन पनि सहभागी हुने भएका छन् । ५० वर्षीय उनी हाफ म्याराथनमा सहभागी हुने भएका हुन् ।

यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु रघुराज वन्त, डम्बर कँवर, मेनुका राउत र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।

खेलाडीहरुको हौशला बढाउन उनीहरु चारपानेमा अन्य खेलाडीसँगै अप्रतियोगीका रुपमा केही समय दौडिने छन् । उनीहरुलाई प्रतियोगिताको समापन कार्यक्रममा सम्मान पनि गरिनेछ ।

मानन्धर लगातार चारपटकसम्म ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी हुन् । उनले कोलकातामा भएको तेस्रो साफमा बनाएको दुई घण्टा १५ मिनेटको रेकर्ड अझै पनि कसैले तोड्न सकेको छैन ।

वन्तले सन् १९८० को मस्को ओलम्पिक, कुँवर र राउतले सन् १९८८ को सिओल ओलम्पिकमा सहभागिता जनाएका थिए ।

त्यस्तै, लामा साविक मेची अञ्चलको पहिलो धावक हुन् । उनले २०३१ सालमा राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा मेचीको प्रतिनिधित्व गर्दै दोस्रो स्थान हाँसिल गरेका थिए ।