मेला तथा महोत्सवमा जनवादी गीत बजाउनुपर्ने माग « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

मेला तथा महोत्सवमा जनवादी गीत बजाउनुपर्ने माग


यलम्वर टाइम्स
२३ चैत्र २०७९, बिहीबार ११:५३

बिर्तामोड । राष्ट्रका लागि संगीत अभियात्रा अभियानले जनवादी कलाकारको सहभागिता बिना कुनै पनि मेला तथा महोत्सव सञ्चालन नगर्न आग्रह गरेको छ ।

झापाको बिर्तामोडमा बिहीवार पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारको सहभागिता विना कुनै पनि सार्वजनिक मेला महोत्सवमा सांगीतिक कार्यक्रम सञ्चालन गरे विद्रोह हुने बताए ।

अभियात्राले छाडा खालका गीतले मेला महोत्सवमा प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई वेवास्ता गरेर कुनै पनि कार्यक्रम आयोजना नगर्न अपिल गरेको छ । सबै ठाउँमा आफूहरुको सहभागिता हुनुपर्ने अभियात्राको माग छ ।

अर्धनग्न नृत्य र छाडा गीत संगीतमा नेताहरुलाई उपस्थित गराई ताली पड्काउनाले नेपाली मौलिकता हराएको जानकारी गराउँदै जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको बताइयो ।

जनताको पक्षमा राज्य सत्ता नहुँदा जनताका कलाकारले वेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको जीवन शर्माले बताए ।

सोही अभियानकै क्रममा बिहीबार राष्ट्रका लागि संगीत अभियात्राको टोली झापा आइपुगेको छ । जनवादी कम्युनिष्ट निकट जनवादी कलाकारको समूह अभियात्राका क्रममा बुधबार झापा आइपुगेको हो । अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता छ ।

वरिष्ठ बामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।

चैत ४ मा धनगढीबाट अभियात्रा शुरु भएको थियो । अभियात्राको टोलीले झापाको बिर्तामोडस्थित सिटी सेन्टरको साइ पार्टी प्यालेसमा चैत २५ गते दिउँसो १ बजे आफ्नो साङ्गीतिक प्रस्तुतिको आयोजना गरेको जनाइएको छ भने २४ गते इलामको फिक्कलमा जनवादी गीत प्रस्तुत हुने पत्रकार सम्मेलनमा चिरन सीले जानकारी दिए ।