पहिचान पक्षधर ६ घटकले विचारका लडाकु उत्पादन गर्ने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

पहिचान पक्षधर ६ घटकले विचारका लडाकु उत्पादन गर्ने


यलम्वर टाइम्स
२३ चैत्र २०७९, बिहीबार ११:५६

चारआली । राष्ट्रिय जनमुक्ति पार्टीसहित ६ घटकले चैत्र २४ र २५ गते आन्दोलनका लागि विचार निर्माण गर्न प्रदेश नं. १ स्तरीय प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

प्रदेश नं. १ लाई कोशी प्रदेश नाम हटाउनु पर्ने भनी शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरी बर्बताको दमन भएको भन्दै त्यसलाई परास्त गर्न विचार निर्माणका लागि कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै विचार प्रदान गर्ने लडाकु उत्पादन गरिने घटकका एक सदस्य एलबी पालुङ्वाले बताए ।

सुरुङ्गामा भएको ६ घटकको अन्तरक्रियामा विचार बिना शक्ति आर्जन गर्न नसकिने भएको हुँदा आफ्ना क्रियाशिल कार्यकर्ताहरुलाई नेपालको समसामायिक राजनीतिकसँगै वैचारिक क्रान्तिका विषयमा प्रशिक्षण गर्न लागिएको बताइएको छ । प्रशिक्षणमा युवा दस्ता निर्माणका विषयमा पनि छलफल हुने भएको छ ।

जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाको सभापतित्वमा भएको अन्तरक्रियाले आन्दोलनका विषयमा समिक्षा गर्दै गाउँ जागरण अभियानसँगै ठाउँ–ठाउँमा राजनीतिक प्रशिक्षण पनि गरिने निर्णय गरेको छ ।

अन्तरक्रियामा सञ्जुहाङ पालुङ्वा, बलदीप प्रभास्कर चाम्लिङ, भक्त खेवाङ, मीना पन्धाक, कृष्णकुमार थेवे लगायतले आ–आफ्नो विचार राख्दै आफ्ना कार्यकर्ताहरुलाई विचारमार्फत गाउँ जागरण अभियान तिब्र पारिने बताइएको छ ।