सुवेदी बने तेस्राे मि. ग्यालेक्सी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सुवेदी बने तेस्राे मि. ग्यालेक्सी


यलम्वर टाइम्स
२६ चैत्र २०७९, आईतवार ०४:२५

बिर्तामोड । स्ट्रेन्थ जिमका मनोज सुवेदी झापाको बिर्तामोडमा आयोजित तेस्रो मि. ग्यालेक्सी बनेका छन् ।

ग्यालेक्सी फिटनेस बिर्तामोडले आयोजना गरेको तेस्रो संस्करणमा मोरङ विराटचोकका सुवेदीले ३९ जना खेलाडीलाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।

शनिबार साँझ सम्पन्न तेस्रो मि. ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियन २०७९ मा सुवेदीले ७० केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए । अन्य चार जना खेलाडीलाई पछि पार्दै उनले मि. ग्यालेक्सीको उपाधिसँगै नगद २ लाख र आकर्षक ट्रफी पनि पाए ।

ओभर अल प्रतिस्पर्धाबाट फस्ट रनरअप ७५ केजी तौल समूहका त्रिभुवन आर्मी क्लबका खेलाडी रमेश कार्की भए । उनी दोस्रो संस्करणका विजेता पनि हुन् । उनले नगद १ लाख २५ हजार प्राप्त गरे ।

यस्तै, सेकेन्ड रनरअप आयोजक ग्यालेक्सी फिटनेसका हर्कबहादुर राई बने । उनले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए । सेकेन्ड रनरअप बनेका राईले नगद ७५ हजार प्राप्त गरे ।

यस्तै, चौथो स्थान हासिल गरेका अजय मल्लिकले नगद ५० हजार प्राप्त गरे । उनी पथरी फिटनेसका तर्फबाट प्रतियोगितामा सहभागी भएका थिए । उनले ६० केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

पाँचौ स्थानमा परेका प्रवित राजवंशी ५५ केजी तौल समूहबाट सहभागी थिए । उनी फ्रि स्टाइल फिटनेसका खेलाडी हुन् । उनले नगद ३० हजार प्राप्त गरे । सबै खेलाडीलाई आकर्षक ट्रफीको व्यवस्था थियो ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आयोजक ग्यालेक्सी फिटनेसका चार महिला खेलाडीले अतिरिक्त प्रस्तुति दिएका थिए भने बेस्ट पोजर र मोस्ट मस्कुलर बन्ने खेलाडीलाई जनही १० हजार प्रदान गरिएको थियो ।

यस्तै, तौल समूहअन्तर्गत दोस्रो र तेस्रो बन्ने १० जनालाई खेलाडीले नगद १० हजार र नगद ५ हजार पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा शारीरिक सुगठनका अग्रज खेलाडीहरु जीवन राई, राम दाहाल, तुल श्रेष्ठ, ललित धिमाल र प्रकाश राईलाई विशेष सम्मान प्रदान गरिएको थियो ।