फर्सीः युरिक एसिडको औषधी « Yalambar Times
८ बैशाख २०८१, शनिबार

फर्सीः युरिक एसिडको औषधी


यलम्वर टाइम्स
२४ बैशाख २०८०, आईतवार ०६:५५

गलत खानपान र असन्तुलित जीवनशैलीका कारण मानिसमा युरिक एसिडको समस्या पछिल्लो समय धेरै बढेको छ । युरिक एसिड हाम्रो शरीरमा बन्ने एक प्रकारको फोहोर पदार्थ हो । शरीरमा प्युरिन नामको प्रोटिन टुट्दा यो बन्ने गर्छ । युरिक एसिडको मात्रा बढ्दा जोर्नीमा एक प्रकारको क्रिस्टल बन्ने गर्छ । जसका कारण जोर्नी तथा हड्डी सुन्निने र दुख्नेजस्ता समस्या हुन सक्छन् ।

यति मात्र होइन, थुप्रै गम्भीर अवस्थामा हिँड्नसमेत मुस्किल हुने गर्छ । लामो समयसम्म युरिक एसिडको मात्रा उच्च भइरहे अर्थराइटिस र ओस्टियोपोरोसिस जस्ता रोग पनि लाग्न सक्छ । तर, खानामा सुधार गरेर र जीवनशैलीमा केही परिवर्तन गरेर उच्च युरिक एसिडलाई नियन्त्रण गर्न सकिन्छ ।

बढेको युरिक एसिडलाई कम गर्न फर्सीको सेवन निकै फाइदाजनक मानिन्छ । आज यस लेखमा हामी तपाईंलाई फर्सी खानुका फाइदा र युरिक एसिड घटाउने तरिकाबारे जानकारी दिइरहेका छौँ ।

युरिक एसिडको समस्यामा केही तरकारीको सेवन लाभदायक मानिन्छ । फर्सीमा भिटामिन–ए, भिटामिन–सी, भिटामिन–ई, पोटासियम, जिङ्क र बिटा क्यारोटिन जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन् । यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रक्रियालाई सुधार्न मद्दत गर्छ । यसले डाइजेस्टिभ इन्जाइमलाई बढ्न प्रोत्साहन दिन्छ, जसले प्रोटिन पचाउन मद्दत गर्छ । साथै, मेटाबोलिजम पनि बढ्छ । फर्सीको बीउमा एन्टिअक्सिडेन्ट गुणहरू प्रशस्त हुन्छन् ।

यसले शरीरमा जम्मा भएको टक्सिन र युरिक एसिडलाई बाहिर निकाल्न मद्दत गर्छ । यसको नियमित सेवनले कलेजोको कार्यक्षमता बढाउन र शरीरबाट विषाक्त पदार्थ हटाउन निकै फाइदाजनक हुन्छ । यसले शरीरमा युरिक एसिड जम्मा हुन दिँदैन । फर्सीमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ, जसले जोर्नी दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ ।

शरीरमा बढेको युरिक एसिडलाई नियन्त्रण गर्न फर्सीको सेवन धेरै तरिकाले गर्न सकिन्छ । जस्तै, तपाईं फर्सीको सुप बनाएर नियमित रूपमा यसको सेवन गर्न सक्नुहुन्छ । यसका लागि फर्सीलाई सुरुमा उसिन्नुहोस् र यसलाई चम्चा वा हातको सहायताले मसिनो बनाउनुहोस् । यसमा प्याज, लसुन, मरीच र मसाला हालेर खानुहोस् । यसबाहेक तपाईं फर्सीको तरकारी बनाएर पनि खान सक्नुहुन्छ ।