बहुपहिचान भनेको के हो ? « Yalambar Times
१ श्रावण २०८१, मंगलवार

बहुपहिचान भनेको के हो ?


यलम्वर टाइम्स
२४ बैशाख २०८०, आईतवार ०७:११

[सञ्जय सिंजाली]

नेकपा एमालेले आफ्नो घोषणा पत्रमा बहुपहिचानको अवधारणा अघि सारेको छ । वास्तवमा राज्य पुनः रचना संवेदनशील कुरा हो । यो सबै जनजातिहरुको मुक्ति र स्वाधीनताको सबालसँग जोडिएको सबाल हो । त्यसैले धेरैले बहुपहिचान के हो भन्दैछन् । वास्तवमा बहुपहिचानको अवधारणालाई समयमै स्पष्ट पार्न सकिएन भने यसले गलत सन्देश दिन सक्छ । त्यसर्थ आज म यस विषयलाई स्पष्ट पार्न चाहन्छु ।

बहुपहिचान (Multi identity) भनेको सिधा अर्थमा एक प्रदेशमा धेरैको पहिचान दिनु हो । एक प्रदेशमा एक जातिको मात्र पहिचान दिँदा अन्य जातिहरुलाई अधीनताको महशुस हुन्छ । उनीहरुले आफूहरु पहिचान विहीन अवस्थामा कैद भएको अनुभूति गर्छन् । यस्तो समाजमा जातीय अस्तित्व र पहिचानको लागि फेरि पनि द्वन्द्व हुन सक्छ । मिश्रित समाजमा एउटा जातिको मात्र प्राधिकार स्थापना हुनु राम्रो होइन । एकल जातीय समाजमा एकल पहिचान (Mono identity)दिनु राम्रो हो भने मिश्रित समाजमा बहुपहिचान (Multi identity) दिनु राम्रो हो । जापान, कोरिया, मंगोलिया आदि एकल जातीय राष्ट्र हुन् । त्यहाँ जातीय द्वन्द्व छैन । हाम्रो मुलुक बहुजातीय मुलुक हो । यहाँ कुनै पनि भूगोलमा एकल जातीय बसोबास छैन । हरेक ठाउँमा मिश्रित बसोबास छ । यस्तो अवस्थामा जातीय पहिचानलाई व्यवस्थित गर्न बहुपहिचान राम्रो हुन्छ । बहुपहिचानलाई जाति, भाषा, संस्कृति र भूगोलको आधारमा व्यवस्थापन गरिन्छ । उदाहरणको लागि एकल जातीय प्रदेशको नाम मगरात स्वायत्त प्रदेश हो भने बहुपहिचानको नाम आर्य–मगरात स्वायत्त प्रदेश हो । थारुवान एकल प्रदेशको नाम हो भने अबध–थारु स्वयत्त प्रदेश बहुपहिचानको नाम हो । तामसालिङ् एकल प्रदेशको नाम हो भने नेवा–तामसालिङ् स्वायत्त प्रदेश बहुपहिचानको नाम हो ।

मिथिला स्वायत्त प्रदेश एकल पहिचान हो भने मैथिल–भोजपुरा स्वयत्त प्रदेश बहुपहिचानको नाम हो । जातीय एकाधिकार तोडेर सबै जातिको पहिचानलाई व्यवस्थित बनाउनु बनाउनु र आपसमा सहिष्णुता भर्नु बहुपहिचानको उद्देश्य हो ।

नेपालमा आजसम्म एकल जातीय पहिचान थियो । पहाडी खस आर्य जातिले आफ्नो मात्र भाषालाई राष्ट्र भाषा, आफ्नो मात्र संस्कृतिलाई राष्ट्रिय संस्कृति, आफ्नो मात्र धर्मलाई राष्ट्रिय धर्म र आफ्नो भेषभूषालाई मात्र राष्ट्रिय पोशाक बनाएको थियो । नेपाल भनेकै नेपालीको हो र नेपाली भनेकै खस आर्य जाति हो भन्ने संस्कार विकसित भएको थियो । अन्य सबै जातिहरु खस आर्य जातिकै एकाधिकारभित्र पहिचानविहीन अवस्थामा रहेका थिए ।

खस आर्य जातिको एकाधिकारलाई व्यवस्थित बनाउन पा“च विकास क्षेत्र, चौध अञ्चल, पचहत्तर जिल्ला, चारहजार गा.वि.स.को एकात्मक संरचना बनाइएको थियो । यो संरचनामा अन्य सम्पूर्ण जातिहरु बहिर पारिएका थिए । नेपालको २०६३ सालको विद्रोहले सबै जातिको पहिचानलाई संवैधानिक संरचनाभित्र ल्याउन संघीय संरचनाको घोषणा ग¥यो । यो विद्रोहले नेपालको एटलसलाई नै फेर्दैछ । अब हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जादैछौं । बहुपहिचानको आधारमा संघीय नेपाल बन्दैछ । यसमा पनि अन्य पार्टीहरु र जनजातिहरुसँगको संवाद, सहकार्य र सहमतिको आधारमा अझ उन्नत प्रकृतिको बहु पहिचानसहितको राज्य पुनः संरचना गर्न सकिन्छ । बहु पहिचानको अवधारणाले नेपालका सबै जातिहरुको स्वाधीनतालाई बढाएको छ ।

लामो समयसम्म जातीय एकाधिकार थोपरेर शासन गरिरहेको खस आर्य जातिको एकाधिकारलाई तोड्दै उसैको पहिचानलाई पनि पुनः व्यवस्थापन गर्न पनि बहुपहिचान नै उपयुक्त हुन्छ । एकल जातीय पहिचानको आधारमा ससाना प्रधिकार सम्पन्न जातीय राज्य नै बनाउने हो भने यसले जातीय द्वन्द्वलाई अझै बढाउन सक्छ । हामीहरुले क्षणिक फाइदाको लागि उत्तेजना भरेर जातीय द्वन्द्वलाई बढाउनु हुँदैन । यो विषयमा एमाओवादी ज्यादा संयमित बन्न जरुरी छ ।

विगतमा एमाओवादीले समाजका हरेक अङ्गहरुमा समस्या खडा गर्ने र आपसमा भिडाएर द्वन्द्व निम्त्याउने काम ग¥यो । जातीय द्वन्द्वलाई त्यही रुपमा हेर्ने हो भने यो समाज र राष्ट्रको लागि प्रत्युत्पादक बन्न सक्छ । यो विषयमा अब हामीहरुले गम्भीर भएर बहस चलाउनु जरुरी छ । हामीहरुले एकातिर जातीय पहिचान र सामथ्र्यलाई ध्यान दिनु छ भने अर्कातिर राष्ट्रिय अखण्डतालाई ध्यान दिनु जरुरी छ । यो विषयमा हामीहरु अतिवादमा फस्नु हुँदैन । हरेक पार्टीका नेताहरुले राष्ट्रिय एकाताभित्र जातीय स्वाधीनतालाई खोज्नुपर्छ भने जातीय स्वाधीनताभित्र राष्ट्रिय एकता खोज्नु पर्छ । ‘पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान’ नारालाई सार्थक बनाउने हो भने सबैले बहुजातीय पहिचानलाई आफ्नो मुख्य एजेण्डा बनाउनु पर्छ । यो नै नेपालको धरातलीय यथार्थ हो ।