दमकमा प्रदर्शनकारीमाथि १९ राउण्ड अश्रृ ग्यास, १० राउण्ड डोमी र सटगन, १ राउण्ड ठूलो हतियार प्रहार « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

दमकमा प्रदर्शनकारीमाथि १९ राउण्ड अश्रृ ग्यास, १० राउण्ड डोमी र सटगन, १ राउण्ड ठूलो हतियार प्रहार


यलम्वर टाइम्स
२७ बैशाख २०८०, बुधबार १२:३४

दमक । प्रदेश नं. १ पुनः नामाङ्कन संघर्ष समिति झापाद्वारा कोशी प्रदेश विरुद्ध दमकमा आयोजना गरिएको शान्तिपूर्ण राँके जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा ४ प्रदर्शनकारीसँगै १० प्रहरी घाइते भएका छन् ।

संघर्ष समिति झापाले दमकमा जुलुस निकाल्दै गर्दा बिजुलीको लाइन गएको मौकामा प्रहरीले अन्धाधुन्दा गोली चलाएको थियो ।

राँके जुलुसलाई बिथोल्न प्रहरीले १९ राउण्ड अश्रु ग्यास, ५ राउण्ड डोमी राउण्ड फायरिङ, ५ राउण्ड सट गनको रबर बुलेट र १ राउण्ड लाईफ बुलेट (ठूलो हतियारको) प्रहार गरेको थियो ।

प्रहरीले चलाएको गोली लागि दीक्षा बराल र गजेन्द्र फागो गम्भीर घाइते भएका छन् भने अन्य सामान्य घाइते भएका छन् । बरालको पाखुरामा गोलीको छर्रा लागेको छ भने फागोको दाहिने घुडाँमा गोली लागेको छ ।

त्यस्तै झडपमा घाइते भएका प्रहरी मध्ये एक जनालाई उपचारका लागि बिराटनगर रिफर गरिएको जनाइएको छ ।

यसै बीच संघर्ष समिति झापाका अध्यक्ष पाण्डवलाल चौधरीले सरकार तानाशाहीको बाटोमा दौडिएको हुँदा अब निर्णायक आन्दोलनमा जाने बताए ।

यता लिम्बूवानी नेता सञ्जुहाङ पालुङ्वाले आदिवासी जनजातिलाई गरिएको दुव्र्यवहार अब सैय नहुने बताए ।

२६ गते मंगलबार भएको राँके जुलुसमा प्रहरी दमनको चौतर्फी विरोध भइरहेको बेला गोली प्रहार गर्ने र आदेश दिनेलाई सरकारले निलम्बन गर्नुपर्ने बताउँदै यस्ता खाले दुव्र्यवहार नगर्न सरकारलाई आन्दोलनकारीहरुले माग गरेका छन् ।

राँके जुलुसमा ‘कोशी प्रदेश मान्दैनौं’, ‘हिक्मत कार्की राजीनामा दे’, ‘पहिचान विरोधी होसियार’ भन्दै प्रदर्शन गरेका थिए ।