अर्जुनधारा यायोक्खाले घाइतेहरुलाई गर्यो सहयोग, नेका सभापति थेवेबाट घटनाप्रति दुःख व्यक्त « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा यायोक्खाले घाइतेहरुलाई गर्यो सहयोग, नेका सभापति थेवेबाट घटनाप्रति दुःख व्यक्त


यलम्वर टाइम्स
२८ बैशाख २०८०, बिहीबार १३:३१

अर्जुनधारा । ‘कोशी प्रदेश’ विरुद्ध दमकमा भएको शान्तिपूर्ण राँके जुलुसमा प्रहरीले चलाएको गोली लागी घाइते भएकाहरुको उपचारका लागि किरात राई यायोक्खा अर्जुनधाराले नगद १८ हजार १२० रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यायोक्खा अर्जुनधाराका अध्यक्ष बिजय राईको नेतृत्वमा गएको टोलीले अस्पतालमै पुगेर बिरामीको स्वास्थ्य अवस्था बुझ्दै संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरी लगायत अन्य पहिचानवादी व्यक्तित्वहरुको रोहवरमा सहयोग रकम हस्तान्तरण गरेको हो ।

रकम किरात राई यायोक्खा अर्जुनधाराकी पूर्व सचिव सरीता राईले हस्तान्तरण गरेकी थिइन् ।

घाइते दुवैको आर्थिक अवस्था कमजोर भएको र पहिचानको आन्दोलनमा ज्यानको परवाह नगरी होमिएकोमा हौसला स्वरुप सहयोग प्रदान गरेको अध्यक्ष विजय राईले बताए ।

यायोक्खाका सचिव सिंहबहादुर राई, सहसचिव प्रेम राई सदस्य राज खम्बू लगायतको टोली सहयोगका लागि अस्पताल पुगेको थियो ।

यसरी नै नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले पहिचानको आन्दोलन वार्ताबाट चाँडै टुंगो लगाउन सरकारलाई आग्रह गरेका छन् ।

पहिचानको आन्दोलन चलेको दुइ महिनापछि दमकमा घाइते भएका योद्धाहरुलाई अस्पतालमा भेट्दै सान्तवना प्रकट गर्दै स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

सभापति थेवेले उपचारमा कमि नआउन अस्पताललाई आग्रह गर्दै आर्थिक अवस्थामा पनि सहयोग गर्ने बताए ।

दमकमा भएको गोली काण्ड अत्यन्तै दुःख र मार्मिक घटना भएको हुँदा प्रशासन पनि गम्भिर हुनुपर्ने भनाइ राखेको पार्टीका जिल्ला सदस्य धर्म लक्सम्बाले बताए ।

कार्यक्रममा पार्टीका जिल्ला सचिव कृष्ण हुमागाई, आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।