दमनको मूल्य चुकाउनुपर्ने दिन आउँछः मन्त्री तावा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

दमनको मूल्य चुकाउनुपर्ने दिन आउँछः मन्त्री तावा


यलम्वर टाइम्स
३१ बैशाख २०८०, आईतवार ०५:१८

बिराटनगर । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावाले स्वास्थ्य क्षेत्रमा निकै व्यथिति भएको बताउँदै त्यसलाई क्रमशः सुधार्दै लगिएको बताएकी छिन् ।

स्वास्थ्यका नाममा करोडौं रुपैयाँ राज्यले खर्च गरे पनि भने जस्तो परिणाम नआउनु र जनताले सेवा प्राप्त नगर्नु व्यथितिको पराकाष्ट हो । यसअघि हाम्रै पार्टीका स्वास्थ्यमन्त्रीले नसुधारेका होइनन्, त्यसलाई थप सुधार्न खोजिरहेका छौं । उनले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर जाने ठोकुवा गरिन् ।

यलम्वर टाइम्सको एक विशेष भेटमा जसपाबाट स्वास्थ्य मन्त्री बनेकी तावाले प्रत्येक अञ्चल तथा जिल्ला अस्पताललाई सेवामुखी र औषधी अभाव नहुनका लागि आफूले गरेको अनुगमनसँगै स्वास्थ्य क्षेत्र सुधारोन्मुख बाटोमा गएको हुँदा जनताले दुःख नपाउने नीति ल्याइने बताइन् ।

सदनमा कोशी प्रदेश विरुद्ध आफ्नो राय राख्दै चुनावमा मत जाहेर नगरेकी मन्त्री तावाले पहिचान पूर्वको मुटु हो, यसलाई कुनै पनि हालतले बिचलन आउन दिन नहुने बताइन् ।

आफू पहिचानको पक्षमा उभिएको हुँदा काम गर्न चारैतिरबाट छेकेको बताउँदै आफू जिम्मेवार भई जनताको पक्षमा रहेर स्वास्थ्य क्षेत्रको व्यथितिलाई अन्त्य गर्न लागेको बताइन् ।

पहिचान पक्षधरहरुलाई राज्यले गरेको दमन उचित नभएको बताउँदै यसलाई वार्ताबाटै सामाधानको बाटो खोज्न प्रदेश १ लाई घचघच्याइरहेको पनि बताइन् ।

प्रदर्शनको क्रममा शहीद लाजेमाथि भएको आक्रमण मानवअधिकार विपरीत छ । त्यसको मूल्य यो सरकारले चुकाउनु पर्ने दिन आउँछ । त्यसैले तपाईकै मिडियामार्फत भन्छु, शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनमार्फत गोली चलाउने कार्य बन्द गरियोस् ।

६० प्रतिशतभन्दा बढी आदिवासी जनजाति बसोबास भएको यो भूगोलमा आदिवासीहरुको आवाजलाई सम्बोधन गर्न नसक्नु आफैमा दुःख लाग्दो छ । ठाउँ–ठाउँमा मैले भन्दै हिंडेको छु, संघीय सरकार पहिचानको आन्दोलनलाई टुङ्गोमा पुर्याउ ।

मन्त्री तावाले सडकदेखि सदनसम्म कोशी नाम विरुद्ध आवाज उठिरहँदा राज्य पक्ष चुपलाग्नुले जनमास अझ उर्लिदै गएको बताउँदै यस्तै हो भने जनधनको क्षति सरकारले लिनुपर्ने बताइन् ।
उनले दमकमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते योद्धाहरुपति स्वास्थ्य लाभको कामना गरिन् ।