फर्सीबारी अहिले पनि रोइरहेको छ « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

फर्सीबारी अहिले पनि रोइरहेको छ


यलम्वर टाइम्स
३१ बैशाख २०८०, आईतवार १२:४५

फर्सीबारी । परिवर्तनको लागि हिडेका युवालाई अर्जुनधारा–१ स्थित फर्सीबारीमा सामूहिक रुपमा हत्या गरिएको स्थलको अवलोकन गरिएको छ ।

जनमुक्ति सेनाको रुपमा अगाडि बढेका अविनाश, सुवास, क्षितिज, मिङ्सो र सुदर्शनलाई तत्कालिन शाहीसेनाले फर्सीबारी स्थित घरैमा बसेका बेला आत्मासमर्पण गर्न लगाई गोली हानी हत्या गरेका थिए ।

हत्यापछि घर नजिकको खोल्सीमा फ्याकेर हिडेको स्थानीय ७५ वर्षिय जनकलाल बानियाँले बताए ।

साँझको समयको मौका पारी २०६१ पौष २७ गते ती पाँच युवालाई हत्या गरिएको थियो ।

लास खोल्सीमा फ्याँकिएको हुँदा खोल्सी रगताम्य थियो । घर आँगनमा रगतका टाँटा थिए । घर नजिक सुवासका आमा रोइ रहेको अवस्थामा हामीले देख्यौं, शनिबार अवलोकनका क्रममा बानियाँले बताए ।

‘हतपत पुग्ने स्थिति नभए पनि ठूलो स्वरले रोएको आवाज आएपछि आँटैले घटनास्थलमा पुग्यौं, खोल्सीमा चार वटा लासहरु लडिरहेका थिए’, बानियाँले घटनाबारे भन्दै थिए ‘खोल्सी गनाइरहेको थियो, लासलाई डरसरी हुँदै अली–अली पुरेका थियौं । पछि भेलबाडीले लग्यो कि ! त्यतिकै सड्यो पत्तो भएन ।’

विगतका कहाली लाग्दो घटनालाई हेर्दा अहिले पनि फर्सीबारी रोइरहेको अवस्था छ ।

फर्सीबारी अर्जुनधारा–१ मा परेतापनि शनिश्चरे बजारबाट १८ किलोमिटर उत्तरमा पर्छ । राते खोलाको शीर भएको हुँदा घटनास्थल वरिपरी २–४ घरमात्र छ ।

शनिबार प्रदेशका भौतिक तथा पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईको अगुवाईमा गएको टोलीले घटनास्थल हेर्दै शहीदका स्तम्भ राखिने योजना रहेको बताए ।

पञ्चायतकालमा परिवर्तनका लागि ज्यानको आहुति दिने सुखानी घटनाका पाँच शहीद जस्तै फर्सीबारीमा हत्या गरिएको शहीदहरुको पनि उच्च सम्मान हुने वचन दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र इलामका नेता रमणले कलिलो उमेरमै देशको लागि बलिदान दिनु शहीदमात्र हुनु होइन, उनीहरुका नाममा बाटो, पाटी पौवा निर्माण गरि विकासको काम पनि जोडिनुपर्ने बताए ।

पोलिट व्यूरो सदस्य झलकसिंह दर्लामीले पाँच जना शहीदप्रति राज्यले केही काम गरेर अगाडि बढेको खण्डमा फर्सीबारीको इतिहास रहनेमा आफू लागि पर्ने बताए ।

प्रदेश उपाध्यक्ष विजय साम्पाङले फर्सीबारी ऐतिहासिक शहीदस्थल भएको प्रतिक्रिया दिए ।

स्थानीय विजेन्द्र येक्तेनले फर्सीबारीको इतिहासको विषयमा उपस्थितहरुलाई जानकारी गराउँदै दीगो विकासका लागि मन्त्री दुर्गाप्रसाद चापागाईलाई ध्यानाकर्षण गराउनका साथै संघीय सरकारबाट बजेट तर्जुमा गरी शहीदको बलिदानीलाई मल्हमपट्टि लगाउँन अनुरोध गरे ।

फर्सीबारी अवलोकनका लागि प्रदेश सांसदद्वय चिन्तन पाठक, बन्दना झागड, माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार राना, नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, माओवादीका युवा नेता सन्तोष थापा, नारद दुःखी लगायतको सहभागिता रहेको थियो ।