गर्मीमा सातुः छन् यति धेरै फाइदा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

गर्मीमा सातुः छन् यति धेरै फाइदा


यलम्वर टाइम्स
३ जेष्ठ २०८०, बुधबार ०७:३६

सातुसँग हामी सबै परिचित छौँ । भुटेको चना होस् वा जौको सातु । सातुको सर्बत गुलियो होस् वा नुनिलो, स्वादिलो त हुन्छ नै यसले असाध्यै गर्मीमा पनि पेटलाई चिसो बनाउँछ । एनर्जी बुस्टर भएका कारण यसलाई घरेलु हर्लिक्स पनि भनिन्छ । नेपालमा पनि कुनै लामो यात्रा गर्नुपर्दा वा खेतबारीमा काम गर्नुपर्दा सातु लिएर जाने गरिन्थ्यो । आज कोल्ड ड्रिड्ढको युगमा पनि सातुको महत्व कम भएको छैन । सुपरफुड भनिने सातुबारे केही जानकारी लिऔँ ।

बिहान सातु पिउनुहोस्, दिउँसो खानुहोस्

गर्मीको दिन छ । सातुको सर्बत घरमा पनि सजिलै तयार पार्न सकिन्छ । भारतकी पोषणविद् डा. विजयश्री प्रसादले बिहान खाली पेटमा सातु पिउनु सबैभन्दा फाइदाजनक हुने बताएकी छिन् । उनका अनुसार यसले ब्लड सुगर नियन्त्रणमा राख्छ । सातुमा फाइबर, प्रोटिन र एन्टिअक्सिडेन्ट पनि भरपुर मात्रामा हुन्छ । यसले ब्लड सुगरलाई नियमन गर्न मद्दत मिल्छ । यसमा क्याल्सियम र म्याग्नेसियमको मात्रा पनि धेरै नै हुन्छ । आइरन पनि भरपुर भएकोले रगतको कमी भएकाहरूले सातु पिउनुपर्छ ।

यस्तै, अर्की पोषणविद् डा. दीक्षा भावसारका अनुसार सातुलाई ‘समर ड्रिड्ढ’ पनि भनिन्छ । उनी भन्छिन्, ‘बिहान खाली पेट सातु पिउँदा पेट चिसो हुन्छ । यसले पाचन प्रक्रिया पनि ठिक रहन्छ । धेरै मानिस दिउँसो यसलाई रोटीजस्तो बनाएर अचारसँग पनि खान्छन् । यसले शरीरलाई ऊर्जावान् बनाउँछ । पेट भरिएको महसुस हुन्छ ।’ गर्मीमा डिहाइड्रेसनको समस्या धेरै हुन्छ । बान्ता, थकाइ लाग्ने जस्ता समस्या हुन्छन् । सातु पिउँदा यसबाट राहत मिल्छ । पोषणविद् विजयश्री प्रसाद भन्छिन्, ‘गर्मीमा सातुभन्दा राम्रो कुनै पेय पदार्थ छैन । पुदिना, कागती, बिरे नुन हालेर तयार पारिएको सातु स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’

राती सातु पिउनु हुन्छ त ?

सातुमा उच्च प्रोटिन हुन्छ । यसमा अन्य थुप्रै पौष्टिक तत्व पनि हुन्छन् । कतिपय अवस्थामा मानिसले राती पनि सातु खाइरहेका हुन्छन् । भारतकी आयुर्वेद विशेषज्ञ डा. डिम्पलका अनुसार सातुको प्रभाव चिसो हुन्छ, त्यसैले राती सातु पिउनु पनि हुँदैन, खानु पनि हुँदैन । यसले अपच हुन्छ । पेटमा एसिडिटी बन्न थाल्छ । बिहान टाउको दुख्ने र रुघा खोकी पनि लाग्न सक्छ ।

धेरै सातु पिउँदा के हुन्छ ?

सातु धेरै मात्रामा पिउँदा झाडा लाग्न सक्छ । ब्लोटिङ र पेटमा ग्यास पनि धेरै बन्न थाल्छ । सातुमा सोडियमको मात्रा धेरै हुन्छ । उच्च रक्तचाप भएकाहरूले सातु कम खानुपर्छ । जसलाई मधुमेह छ, उनीहरुले पनि सातु खाँदा सावधानी अपनाउनुपर्छ ।

ग्लुटन बढी हुँदा आन्द्रालाई क्षति

चना वा जौलाई भुटेर सातु पाउडर बनाइन्छ । तर यो ग्लुटन रहित भने हुँदैन । ग्लुटन एक प्रकारको प्रोटिन हो जुन गहुँ, जौमा पाइन्छ । जसलाई ग्लुटन पच्दैन वा जसलाई सेलिएक नामको रोग छ, उनीहरुले सातु खानु हुँदैन ।

सातु पिउनुका फाइदा के ?

आँखालाई राहतः गर्मीमा आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने, सुख्खा हुने इत्यादि समस्या देखिन्छन् । सातुलाई पानीमा घोलेर पिउँदा यी समस्याबाट राहत पाइन्छ ।

घाँटीलाई आरामः जसलाई घाँटीमा खसखस, घाँटीभित्र दाना निस्किएको वा केही पनि निल्न समस्या छ भने उनीहरुले सातुको सर्बत पिउनुपर्छ ।

इनर्जी बुस्टरः यसले कमजोरी हटाउँछ । गर्मीमा थकान हट्छ । तत्काल ऊर्जाको लागि यो उत्तम पेय पदार्थ हो । यसले भोकलाई पनि शान्त पार्छ ।

शरीरलाई शीतल राख्छः गर्मीमा शरीरको तापक्रम बढ्ने गर्छ । सातु पिउँदा शरीर तातो हुँदैन । यसले पेट ठिक राख्छ र पाचन पनि राम्रो हुन्छ ।

तौल घटाउँछः यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा दैनिक सातु पिउनुहोस् । यसले ब्लोटिङ कम गर्छ र मेटाबोलिजममा सुधार गर्दछ ।