घाइते फागोसँग जनमुक्ति अध्यक्ष सूर्यवंशीको भेट « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

घाइते फागोसँग जनमुक्ति अध्यक्ष सूर्यवंशीको भेट


यलम्वर टाइम्स
३ जेष्ठ २०८०, बुधबार ११:५४

काठमाण्डौ । कोशी प्रदेश विरुद्ध झापाको दमकमा भएको शान्तिपूर्ण राँके जुलुसमा प्रहरीको गोली लागि घाइते भएका गजेन्द्र फागोलाई राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पार्टी कार्यकर्ताहरुसँग ललितपुर स्थित बीएण्डबी हस्पिटल पुगेका अध्यक्ष सूर्यवंशीले उपचाररथ फागोसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पहिचानवादी योद्धा फागोसँगको भेटमा सान्तवना प्रकट गर्दै स्वास्थ्य लाभको कामना प्रकट गरेका अध्यक्ष सूर्यवंशीले पहिचानको आन्दोलनमा ज्यानको परवाह नगरी होमिएको भनि सहासिक कार्यको प्रशंसा गरेका थिए । उनले उपचारमा कमि हुन नदिन पार्टी लाग्ने वचन समेत दिए ।

उनले पहिचानवादीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको यस्तो खाले दमनले लोकतन्त्रकै बदनाम गरेको बताउँदै सरकार अराजकता र तानाशाहतर्फ अघि बढेको आरोप लगाए ।

उनले पहिचानको आन्दोलनलाई भुसको आगोको संज्ञा दिँदै मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले चाँडै पहिचानवादीहरुसँग वार्ता गरि निकास खोज्नु पर्ने बताए ।

फागो बैंशाख २६ गते मंगलबार दमकमा भएको राँके जुलुसमा गोली चल्दा घाइते भएका थिए । तत्काल उनको उपचार बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा भए पनि थप उपचारका लागि उनलाई ललितपुर पुर्याइएको थियो ।

यसरी नै जसपाका नेता तथा शिक्षा मन्त्री अशोक राईले पनि उनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै अन्य राजनीतिक दल, संघसंस्था, सामाजिक अभियान्ताहरुले उनलाई भेटेर सहानुभूति प्रकाट गरेका छन् ।