बिर्तामोडको बुधबारे हट्यामा डोजर चल्यो « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

बिर्तामोडको बुधबारे हट्यामा डोजर चल्यो


यलम्वर टाइम्स
८ जेष्ठ २०८०, सोमबार ०९:२९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा लगायतका संरचना हटाउन सोमबार (आज) डोजर चलाएको छ ।

नगरको डोजर पसल भत्काउन अघि बढेपछि व्यापारीहरुद्वारा अवरोधको प्रयास भएको थियो । यद्यपी डोजर भने रोकिएन । नगरका सात वटा डोजर बुधवारे हटियामा एकसाथ एक्सनमा उत्रिए ।

सो क्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतका व्यवसायी अगुवाहरु डोजरमा चढेर चालकलाई गाडी अघि नबढाउन दवाव सिर्जना गरेका थिए । तर डोजर नरोकिएपछि वाणिज्य संघका नेताहरु पछि हटेका थिए ।

सुरुमा स्थानीय पसल सञ्चालकहरु पनि डोजर रोक्ने प्रयासमा लागेका थिए । डोजर नरोकिएपछि व्यवसायीहरु आफ्ना सामान पोको पारेर सिटी रिक्सामा हाली सुरक्षित स्थानमा सार्न बाध्य भएका थिए ।

अवरोधका क्रममा व्यवसायीले डोजरमा ढुंगा हान्दा एउटाको सिसा फुटाएका छन् । बिर्तामोड–५ स्थित बुधबारे हटियामा १९४ वटा पसल रहेका थिए ।

सोमबार मध्याह्नदेखि चलेका डोजरले अधिकांश पसल भत्काइसकेका छन् ।