राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट सहयोग « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट सहयोग


यलम्वर टाइम्स
१० जेष्ठ २०८०, बुधबार ०८:१७

झापा । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महाबीर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताए ।

केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उनले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गरे ।

रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले अभियानबारे अझै पनि धेरैले नबुझेको भन्दै केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताए ।

‘राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ । अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छ’, उनले भने, ‘केहीले यस विषयमा नबुझेर नै टिकाटीप्पणी पनि गरिरहनुभएको छ । यो अभियान २÷४ वर्षको प्रोजेक्ट होइन । यसको क्षेत्र बृहत् छ । यसको समय अनन्त कालसम्मको छ । यसको वास्तविकता बुझाउन आवश्यक छ ।’

महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताए ।

नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।