शिवसतासीद्वारा एक वर्षमा ९ महत्वपूर्ण योजना अन्तर्गत ४९ वटा सम्पन्न « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

शिवसतासीद्वारा एक वर्षमा ९ महत्वपूर्ण योजना अन्तर्गत ४९ वटा सम्पन्न


यलम्वर टाइम्स
१० जेष्ठ २०८०, बुधबार ०९:५०

शिवसतासी । जनप्रतिनिधिहरुको एक वर्षे कार्यकालमा के–के भए भन्ने विषयलाई लिएर नगरपालिकाले आज (बुधबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

नगर प्रमुख मेघाहाङ थोप्रा ‘रोशन’ ले महत्वपूर्ण ९ वटा योजना अन्तर्गत ४९ वटा काम सम्पन्न भएको बताएका छन् ।

सीमित स्रोत, साधनको बाबजुद आमजनतामाझ गरेको प्रतिवद्धताप्रति प्रतिवद्ध भई पूर्वाधार विकास निर्माण, सामाजिक, शैक्षिक, विपद् व्यवस्थापन, वातावरण संरक्षण लगायतका क्षेत्रमा काम गर्दै आएको सुनाए ।

उनले सहज सेवा प्रवाह गर्न र सुशासन कायम गराउन आफूहरु धेरै हदसम्म सफल भएको जानकारी दिए ।

नगर प्रमुख थोप्राले भौतिक पूर्वाधार विकासतर्फ रंगेथान, मंगलबारे, दोमुखा आदि ठाउँमा कालोपत्रे सडक मर्मत भएको, बसपार्कको २ वटा ब्लक भवन निर्माण भएको, वडा नं. ९ र १० को कार्यालय भवन अन्तिम चरणमा रहेको र विभिन्न तटबन्धनका कामहरु भएको तथ्याङ्क प्रस्तुत गरेका छन् ।

उनले कृषितर्फ कृषि बजार व्यवस्थापनका लागि भवन तथा टहरा निर्माण, कृषकलाई बिउ बिजन, मकैमा अनुदान, सिचाईंका लागि कृषकहरुसँग साझेदारीमा ३ सय मटर तथा पाइप वितरण गरिएको, ४ सय प्लाष्टिक टनेल वितरण गरिएको, तेल तथा अन्य तरकारी उत्पादनमा अनुदान दिएको, पशुपालनमा अनुदानसँगै पशुहरुमा औषधी तथा खोपहरु प्रदान गरिएको बताए ।

त्यस्तै पर्यटनतर्फ सतासीधाम तथा चिल्लागढ पर्यटकीय क्षेत्र विकासका लागि पूर्वाधार निर्माण भएको, दोमुखा क्षेत्रमा विकासको लगानी गरिएको, शिवगञ्ज बजार क्षेत्रमा पूर्वाधार तयार गरि कृषि पर्यटनको रुपमा विकास गरिएको जानकारी दिए ।

सामाजिक तथा सांस्कृतिक विकासतर्फ दमकल खरिद गरि जनधानको सुरक्षाका लागि प्रयास गरिएको, एम्बुलेन्स तथा शववाहन व्यवस्था गरिएको, महिला, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, शारीरिक रुपमा असक्तका लागि विभिन्न रचनात्मक कार्यक्रम गरिएको, धार्मिक पर्यटकीय क्षेत्रमा सडक बत्ती जोडिएको नगर प्रमुख थोप्राले सुनाए ।

यसैगरी शैक्षिक विकासतर्फ ५ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको, शिवगञ्जको जनआदर्श विद्यालयमा नमूना विद्यालयका लागि एक तले भवन निर्माण भएको, स्मार्ट विद्यालयका लागि नगर क्षेत्रबाट २ वटा विद्यालय छनौट गरि कार्यक्रम अगाडि बढाइएको, नगर क्षेत्रमा भएका प्रअहरुका लागि क्षमता साथै गुणस्तरीय शिक्षाका लागि तालिम प्रदान शैक्षिक सुधारका काममा नगरपालिका लागेको बताए ।

उनले स्वास्थ्य सेवामा प्रभावकारी बनाउन १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रको भवन अन्तिम चरणमा पुगेको, वडा–वडामा स्वास्थ्य चौकी सेवा प्रदान गरिएको, वातावरण तथा विपद्मा विपद् व्यवस्थापन कोष खडा गरि असहायहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आएको जानकारी दिए ।

त्यस्तै सार्वजनिक सेवामा जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि तालिम, न्यायिक समितिलाई मेलमिलाप सम्बन्धि तालिम दिइएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन करार गर्दै अन्य कर्मचारीहरुको उत्प्रेरणा बढाई सेवा प्रवाह चुस्त बनाइएको, गुनासो सुन्ने अधिकारी स्थापना गरी नागरिक मैत्री बनाइएको, राजश्व परिचालनमा सुधार गराई आन्तिरक राजश्वमा वृद्धि भएको पनि नगर प्रमुख थोप्राले जानकारी गराए ।

नीतिगत सुधारतर्फ राष्ट्रिय नीति अनुरुप हुने गरी नगरपालिकाको नीति तथा कानुनको तर्जुमा गरिएको, २ वटा कानुन र १२ वटा कार्य विधि तथा निर्देशका तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, राजश्व सुधार योजना तर्जुमाको क्रममा रहेको पनि नगर प्रमुख थोप्राले पत्रकारहरुमाझ जानकारी गराए ।

प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख नरमाया कार्कीले पनि विकासका विषयमा आफ्ना धारणा राखेकी थिइन् ।

पत्रकार सम्मेलनमा लेखा प्रमुख प्रकाश योङहाङ, योजना प्रमुख प्रकाश चौधरी, वडा नं. १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ लगायत पालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।