पहिचानको आन्दोलनलाई छेक्ने दलहरु आफै समाप्त हुँदै जाने निश्चितः डा. भट्टचन « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

पहिचानको आन्दोलनलाई छेक्ने दलहरु आफै समाप्त हुँदै जाने निश्चितः डा. भट्टचन


यलम्वर टाइम्स
११ जेष्ठ २०८०, बिहीबार ०९:४९

दमक । पहिचानको आन्दोलनलाई अपहेलना गर्ने दलहरुप्रति मानवअधिकारमार्फत मुद्दा लगाउने कुरा दमकमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

दमकको किरात भवनमा आयोजित कार्यक्रममा बोल्दै मानवशास्त्री तथा आदिवासी अभियन्ता डा. कृष्णबहादुर भट्टचनले प्रदेश नं. १ को आदिवासीको पहिचान आन्दोलन सफल भए नेपालकै आदिवासीको आन्दोलन सफल हुने, नेपालको आदिवासी आन्दोलन सफल भए भारत लगायत एसियाकै आन्दोलन सफल हुने र एसियाकै आन्दोलन सफल भए अन्तर्राष्ट्रिय आदिवासीको आन्दोलन नै सफल हुने बताए ।

प्रमुख वक्ताका रुपमा रहेका डा. भट्टचनले आदिवासीका आवाज वा मुद्दाका विषयमा नश्लीयवादी निन्तन बोकेका दलले छेकथुन गरेको हुँदा उर्लिएको पहिचानवादीको भेलले कोशीलाई काशीमा पुर्याइदिने तथ्याङ्क सहित आफ्नो राय राखेका थिए ।

आदिवासीले लोकतन्त्र उन्मुख देशमा ०७२ को संविधानले दिएको अधिकार खोज्दा एमाले बाधक हुन्छ भने, एमालेभित्र रहेर बसेका आदिवासी नेताहरुले बेलैमा नसोचे वंश गद्दारमात्र होइन यो भन्दा ठूलो क्षति व्यहोर्ने दिन आउँदै गरेको बताए ।

अभिमुखिकरण कार्यक्रममा लाहुरनिपका महासचिव शंखर लिम्बूले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस पहिचानको पक्षमा आउँदै गर्दा एमालेको एकलौटि ढिप्पीपन स्वीकार्य नहुने बताए ।

विशेष अतिथि समेत रहेका अधिवक्ता लिम्बूले कोशी प्रदेश छलफल बिना आएको हुँदा जसले स्वीकृत गर्र्यो, उसैले सदनबाट फिर्ता नलिएको खण्डमा यो भन्दा ठूलो विद्रोह हुने चेतावनी दिए ।

झापा र मोरङ संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले कानुन सम्मत शान्तिपूर्ण विरोध सभालाई छेकथुन गर्नु प्रहरी प्रशासनको दमन स्वीकार्य नभएको बताउँदै हतियारबाटै आन्दोलनकारीलाई तह लगाउने हो भने सुरक्षित हुन आदिवासीले हतियार उठाए त्यसको जवाफ राज्य सत्ताले दिन सक्छ ? प्रश्न गरे ।

झापा संघर्ष समितिका अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा मोरङ संघर्ष समितिका अध्यक्ष रामभक्त कुरुम्बाङले स्वागत गर्दै उद्देश्यमाथि प्रकाश पारेका थिए ।