शनिश्चरे मावि नमुना विद्यालय विकास कार्यक्रममा छनौट, सुविधायुक्त चमेना गृहको शिलान्यास « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

शनिश्चरे मावि नमुना विद्यालय विकास कार्यक्रममा छनौट, सुविधायुक्त चमेना गृहको शिलान्यास


यलम्वर टाइम्स
११ जेष्ठ २०८०, बिहीबार ०९:४३

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रकै पुरानो तथा झापा जिल्लाकै दोस्रो पुरोनो विद्यालयको रुपमा परिचित शनिश्चरे मावि प्रदेश सरकारको नमुना मावि विकास कार्यक्रममा छनौट भएको छ ।

प्रदेश सरकारले स्थानीय तहसँगको साझेदारीमा प्रदेशभरिका १३ विद्यालयमा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्ने भएपछि अर्जुनधारा–८ स्थित शनिश्चरे मावि छनौटमा परेको हो ।

छनौटमा परेसँगै चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम अन्तर्गत मन्त्रालयको ४२ लाख ५० हजार र अर्जुनधारा नगरपालिकाको १४ लाख २० हजार रुपैयाँको लागत साझेदारीमा विद्यालयमा विभिन्न भौतिक, शैक्षिक तथा व्यवस्थापकीय कार्यहरू गर्ने विद्यालयले योजना तयार गरेको छ ।

सुविधायुक्त चमेना गृह निर्माण, शौचालयहरूको मर्मत, पुस्तकालय र आइसिटी ल्यावको थप व्यवस्थापन, बास्केट बल कोर्ट, भलिबल कोर्ट, टेबल टेनिस कोर्ट निर्माण, कार्यालय कक्षा व्यवस्थापन चालू आर्थिक वर्षका योजनाभित्र परेका छन् ।

सोही योजना अनुरुप विद्यालयमा नयाँ चमेना गृहको शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले चमेना गृहको शिलान्यास गरेका हुन् ।

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षहरूमा प्राप्त हुने अनुदानबाट थप कार्यहरू गर्नका लागि विद्यालयले नमुना विद्यालय विकास गुरुयोजना समेत तयार गरेको छ ।

वि.सं. २००५ मा स्थापना भएको शनिश्चरे माविमा हाल करिब १२०० विद्यार्थीहरू अध्ययनरत छन् ।

शिलान्यास कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेती, विद्यालयका प्रअ चेतामणि खनाल, शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी लगायतको उपस्थिति रहेको थियो ।