पहिचानवादीहरुद्वारा प्रदेश सभा घेर्दै विशाल जनप्रर्दशन, ७२ प्रदर्शनकारी पक्राउ « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

पहिचानवादीहरुद्वारा प्रदेश सभा घेर्दै विशाल जनप्रर्दशन, ७२ प्रदर्शनकारी पक्राउ


यलम्वर टाइम्स
१४ जेष्ठ २०८०, आईतवार ०७:०२

बिराटनगर । कोशी प्रदेश नामाकरण विरुद्ध बिराटनगरमा आज आईतबार बिहानदेखि नै पहिचानवादीहरुले जनप्रदर्शन गर्दै आएका छन् ।

आजबाट कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुने भएपछि पहिचानवादीहरुले दबाब दिन प्रदेश सभा घेर्दै जनप्रदर्शन गरेका हुन् ।

पहिचानवादीहरुको जनप्रदर्शनलाई बिथोल्न बिहानैदेखि प्रहरीहरुले धरपकड सुरु गरेका थिए । यो समाचार तयार पार्दासम्म प्रहरीले ७२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष देवान राई, महासचिव भीम राई उपमहासविच मन्जु सोताङ सचिव नागेशचन्द्र राई, सहकोषाध्यक्ष छिला राई, किरण राई, याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोबिन्द आङ्बुङ, कृष्ण चोङ्बाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लाओती, उपमहासचिव दीपा लिम्बू लगायत रहेको जनाइएको छ ।

प्रहरीले आन्दोलन बिथाल्न धरपकड गरे पनि त्यसको कुनै परवाह नगरी आन्दोलन जारी राख्ने पहिचानवादी नेताहरुले बताएका छन् । यता मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको बताए ।

प्राप्त रिपोर्ट अनुसार पक्राउ परेका प्रदर्शनकारीहरुलाई डीआईजी कार्यालय रानीबारीमा सारिएको बताइएको छ भने प्रदर्शनकारीहरुले आफूहरुलाई पक्राउ गरि जहाँ लगे पनि कोशी प्रदेश किमार्थ स्वीकार्य नहुने बताएका छन् । उनीहरुले कोशी नामलाई फिर्ता गराएरै छाड्ने बताएका छन् ।

यता सांसदहरु भने प्रदेश सभा भवनको मूल द्वारबाट नभई लुकिछुपी प्रवेश गरि छलफल चलाएका छन्, तर बैठकमा भने पहिचानवादीहरुको आन्दोलनप्रति नै बढी गम्भीर भएको एक सांसदले बताएका छन् ।

प्रदेश सभाको बैठक गत फागुन १७ गते प्रदेशको नामाकरणपछि स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।