राम रानालाई खेदो किन ? « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

राम रानालाई खेदो किन ?


यलम्वर टाइम्स
२५ जेष्ठ २०८०, बिहीबार १२:१५

इलाम । पहिचान पक्षको निशानामा परेका एमाले नेता राम रानालाई आज कालो मोसो दलेका छन् ।

पहिचान पक्षका भावनालाई तिलाञ्जली दिएको भन्दै एमाले नेता प्रदेश १ का उपनेता समेत रहेका राम राना मगरलाई दोस्रो पटक आक्रमण भएको हो ।

नेता रानालाई पहिचान पक्षको सम्मानका लागि आवाज उठाइ दिन अनुरोध गर्दा बेवास्ता गरेको भन्दै कालो मोसो दलेको प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले बताए ।

उनी चुनावमा लड्दा पहिचानका विषयमा आफ्नो तर्फबाट उठाउने प्रतिवद्धतासँगै निर्वाचित भएका थिए तर, पछि पहिचानको विपक्षमा उभिएको हुँदा उनकै निर्वाचन क्षेत्रमा आलोचित हुँदै पहिचान पक्षले खबरदारी गरिरहेका थिए ।

संघर्ष समितिका संयोजक थेगिमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज ०८० जेठ २५ गते इ.न.पा–११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई करिब सवा सोयाकबासी जनताले सवा ११ बजेको समयमा अचानक भेटेपछि गाडीभित्रै एक बाल्टी पूरै कालो मोसो मोबिलले स्वागत गरी पठाइएको र उहाँ सवार सेतो गाडी पनि कालो मोबिलले रंगाएर सजाइ पठाइएको खबर छ ।’

यस्तै, उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई समेत पहिचान पक्षधरले दुर्व्यवहार गरेका छन् । उनी सवार गाडी छेकेर आक्रमण प्रयास गरिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनले उग्ररूप लिन थालेपछि कोशी प्रदेश सरकारले बुधबार पहिचान पक्षधरको आन्दोलनको माग सुनुवाइ गर्नका निमित्त खानेपानी, सिचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङवोको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ ।

तर, पहिचान पक्षधरले भने कोशी विधेयक खारेज गर्नुपर्ने र अल्पमतको सरकारसँग वार्ता नगर्ने अडान लिएको छ ।