एमाले अध्यक्ष ओलीलाई सञ्जुहाङको ठाडो चुनौती « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओलीलाई सञ्जुहाङको ठाडो चुनौती


यलम्वर टाइम्स
२८ जेष्ठ २०८०, आईतवार १०:३१

अर्जुनधारा । लिम्बूवानी नेता सञ्जुहाङ पालुङ्वाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै के आदिवासी जनजातिले गणतन्त्रमा अधिकार खोज्दा पार्टी तगारो बन्ने हो त ? होइन भने पहिचानसहितको नाम जुराउँदा किन भिड्न तयार हौं भन्दै आफ्ना कार्यकर्तालाई उक्साइन्छ ? नेता पालुङ्वाले शनिबार अर्जुनधारामा ६ घटक दल बीच समायोजन कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा राखेका हुन् ।

किरात राई यायोक्खाको भवनमा आयोजित समायोजन कार्यक्रममा नेकपा एमालेले ०७४ को आम निर्वाचनमा पहिचानसहित आत्मनिर्णयको अधिकार दिने भनी आम किरात प्रदेशमा आफ्ना घोषणापत्र सार्वजनिक गरे र ठाउँ–ठाउँमा आदिवासीहरुलाई मायालु शब्दमा मत लगाउन आग्रह गरे ।

त्यही आग्रह बमोजिम सबैले मत जाहेर पनि भयो । जब उनी सत्तामा पुगे त्यसको ठिक उल्टो व्यवहार गरेको हुँदा केपी ओलीप्रति लक्षित गर्दै पहिचानवादीसँग भिड्न कार्यकर्ता उभ्याइन्छ भने त्यसको प्रतिकार गर्न पहिचान पक्ष युवाहरु तयार रहेको चेतावनी दिए ।

आफै अधिकार दिन्छु भन्ने अधिकार दिने ठाउँमा पुग्दा आदिवासीहरुलाई हलियाको व्यवहार गर्ने के यो देशको नागरिक समान रुपमा बाँच्न पाउने अधिकार छैन त ? प्रश्न गर्दै भने, त्यसो हो भने आउँदो चुनावमा नेकपा एमालेलाई मात्र होइन पहिचान विरोधी दलहरुलाई बढार्न हामी जान्दछौं ।

उनले नेपाली कांग्रेससँग पनि दुःख व्यक्त गरे । पहिचान पनि भेटिने, द्वन्द पनि मेटिने भनेर जनजातिलाई फकाउने अहिले आएर धोका दिने यो काइदा पनि पहिचानवादी पक्षहरुलाई सैय नभएको बताए ।

पालुङ्वाले माओवादीप्रति लक्षित गर्दै जातिको नाममा अधिकार प्रदान गर्ने भनी जनयुद्धमा शंखघोष गर्ने माओवादी केन्द्रभित्रको प्रचण्ड शैली शंकाको घेरामा रहेको बताए ।

कार्यक्रममा जनमुक्ति पार्टीका केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले किरात सभ्यताको जगमा उभिएर प्रदेशलाई किरात प्रदेशको नाममा अगाडि बढे सबैको सहअस्तीत्व निर्माणमा सहयोग पुग्ने बताए ।

राज खम्बूको सभापतित्वमा भएको कार्यक्रममा ६ घटका नेता भक्त खेवाङ, युवराज याक्खा, इन्दिरा धौराली, पर्शुराम मगर लगायतले पहिचानका विषयमा आ–आफ्ना विचार राखेका थिए ।

भेलाले राज खम्बूको संयोजकत्वमा २१ सदस्यीय समायोजन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा भरत थापा मगर, हर्क कुरुङबाङ, सचिव तेजबहादुर योङहाङ, सहसचिवमा तारा पालुङ्वा, कोषाध्यक्षमा निर्मला येक्तेन रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मुकेश थोक्लिहाङ, समिर शेर्मा, राजु तुम्वापो, मनकुमार येक्तेन, खड्ग लावती, शुकबीर लिम्बू, बुद्धिराज इङबुङ, बिजय इङ्नाम, चन्द्र राना मगर, धनकुमारी राई, कविन्द्र राई, मक्करध्वोज येक्तेन, मुजोलुङ येक्तेन रहेका छन् । कार्यक्रमको सञ्चालन भने दिलीप राईले गरेका थिए ।