बुद्धशान्तिको कच्चा भवनप्रति माओवादी केन्द्रका चासो « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

बुद्धशान्तिको कच्चा भवनप्रति माओवादी केन्द्रका चासो


यलम्वर टाइम्स
२८ जेष्ठ २०८०, आईतवार १०:३०

बुद्धशान्ति । बुद्धशान्ति वडा नं. २ को कार्यालय भवन कच्चा भएपछि स्थानीय सचेत नागरिकहरुले आवाज उठाउँदा नेकपा एमालेका कार्यकर्ताबाट अभद्र व्यवहार भएको भन्दै नेकपा माओवादी केन्द्र झापाले एक विज्ञप्ती प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

यसअघिका पदाधिकारीको उपस्थितिमा उक्त भवन निर्माण भएको थियो । भवन ६५ लाखमा निर्माण भए पनि भवन पूर्ण रुपमा पानी चुहिने र सबै कोठा चर्किएको हुँदा नागरिकहरुले उचित समाधानका लागि आवाज उठाउँदा भवन निर्माण समितिका सचिव समेत रहेका नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्यहको नेतृत्वमा केही उच्छृङ्खल समूहद्वारा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अर्जुन पाण्डे लगायत केहीलाई दुव्र्यवहार तथा आक्रमण गर्ने प्रयास गरिएको भन्दै ध्यानाकर्षण गराएको हो ।

जिल्ला संयोजक राजु आचार्य अग्नी र सचिव मोहन टुडुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘भवनका वालहरु चर्किकाए छन् । छतबाट पानी चुहिने भएको छ । यसको उचित समाधान खोज्नुको सट्टा उच्छृङ्ख शैलीमा उभिनु निन्दनीय छ ।’

सार्वजनिक सम्पत्तिमाथि भएको अनियमितता र लापरवाहीप्रति चासो र चिन्ता भएको व्यक्त गर्दै घटनाको तथ्य तथा छानबीन गरी तत्काल दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकाय, सचेत नागरिक र पत्रकारहरुमा अपिल पनि गरेको छ ।