‘स्वराज’बाट अभिनयमा आउँदै तेरिया « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

‘स्वराज’बाट अभिनयमा आउँदै तेरिया


यलम्वर टाइम्स
५ असार २०८०, मंगलवार १०:४८

भारतीय चर्चित रियालिटी शो ‘झलक दिखला जा–९’ र ‘डीआईडी लिटिल मास्टर–३’को उपाधि जितेर चर्चा आएकी तेरिया फौजा मगरले अब अभिनय करिअर सुरु गरेकी छन् ।

केही नेपाली फिल्ममा अभिनयको प्रस्ताव अस्वीकार गरेकी उनले भारतको सरकारी टेलिभिजन दूरदर्शनको प्रस्तुती रहेको ‘स्वराज’ नामक सिरियलमा विशेष भूमिकामा अभिनय गरेकी छन् ।

तेरियाले आफ्नो इन्स्टाग्राममा प्रशारण हुने सिरियलको प्रोमो सेअर गरेकी छन्, जसमा उनलाई लडाकु अवतारमा देख्न सकिन्छ । सिरियलमा आफू रानी गाइदिन्ल्यूको भूमिकामा रहेको तेरियाले जानकारी गराएकी छन् ।

रानी गाइदिन्ल्यू ती हुन्, जसले भारतको स्वतन्त्रताका लागि ब्रिटिस शासनको विरुद्धमा विद्रोह गरेकी थिइन् । उनको भूमिका तेरियाले निर्वाह गरेकी हुन् ।

तेरियाले प्रोमो सेअर गर्दै लेखेकी छन्, ‘यस्तो वीर चरित्र खेल्नु मेरो लागि उल्लेखनीय क्षण थियो । धेरै कुरा सिक्नु पाएँ र सुटिङमा राम्रो समय बित्यो ।’

प्रोमोमा उनलाई पर्याप्त स्थान दिइएको छ । उनले इन्स्टामा सिरियल छायांकन बेलाका केही तस्विरहरु पनि सेअर गरेकी छन्, जसमा उनी रोंगमेई पहिरनमा देखिएकी छन् ।

एउटा तस्विरमा उनलाई वाण बोकेको अवस्थामा देख्न सकिन्छ ।