विश्वासको मत प्राप्त हुनेमा विश्वस्त छुः मुख्यमन्त्री थापा « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

विश्वासको मत प्राप्त हुनेमा विश्वस्त छुः मुख्यमन्त्री थापा


यलम्वर टाइम्स
२६ असार २०८०, मंगलवार ०८:२१

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र विश्वासको मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ’, थापाले भने, ‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’

विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राखे । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको उनको भनाई थियो ।

कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेशसभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्यहरु, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।