बिपत व्यवस्थापनमा जुट्न कार्यकर्तामाझ एमाले झापाको आग्रह « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

बिपत व्यवस्थापनमा जुट्न कार्यकर्तामाझ एमाले झापाको आग्रह


यलम्वर टाइम्स
२९ असार २०८०, शुक्रबार ११:१८

झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तीलाई आह्वान गरेका छन् ।

पार्टी जिल्ला अध्यक्षको तर्फबाट एक अपिल प्रकाशन गर्दै पार्टीका सम्पूर्ण जनसंगठनहरु, पार्टीका पालिका तथा वडा कमिटीहरु, तत्तत् क्षेत्रमा बसोबास गर्ने नेता नेतृत्व गण समेतलाई चनाखो रही बिपत व्यवस्थापनको तयारीका लागि आवश्यकता अनुसार स्थानीय बिपत ब्यवस्थापन समिति गठन गर्न पनि उनले अनुरोध गरेका छन् ।

स्थानीय प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी जस्ता सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरी सम्भावित विपदको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवाला सबैमा विशेष अपिल र अनुरोध गरिएको अपिलमा उल्लेख छ ।

यही असारको पहिलो दुई दिन पूर्वी पहाडी जिल्लाहरुमा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष कार्कीले झापा जिल्ला कमिटीको तर्फबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै झापाको भूगोल भएर बग्ने ठूला नदी र खोलाहरु कनकाई, मेची, रतुवा, मावा, बिरिङ्ग, टाङ्गटिङ, निन्दा, अन्दुवा, घाग्रा, कमल आदिले यो वर्ष पनि हामीमा प्राकृतिक विपत्ती ल्याउन सक्ने सम्भावना कायमै रहेकाले सजग रहन उनको आग्रह छ ।

विगत वर्षझैं हुनसक्ने प्राकृतिक विपत्तिबाट धनजनको क्षति हुन नदिन जिल्लास्थित सम्बन्धित सरकारी निकायहरु तथा स्थानीय सरकारहरुलाई सचेत रही आवश्यक पूर्वतयारी गर्न नेकपा (एमाले) झापा जिल्ला कमिटीको तर्फबाट अपिलमार्फत अनुरोध गरिएको हो ।