भानु जयन्तीः कतै सम्मान, कतै चर्चा परिचर्चा « Yalambar Times
३१ असार २०८२, मंगलवार

भानु जयन्तीः कतै सम्मान, कतै चर्चा परिचर्चा


यलम्वर टाइम्स
२९ असार २०८०, शुक्रबार १२:२४

काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आदिकवि भानुभक्त आचार्यको २१० औं जयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष भुमिका फियाक लिम्बू सहित चार जनालाई सम्मान गरेको छ ।

मेचीनगर–६ स्थित काँकरभिट्टामा रहेको भानुभक्त आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै सुरु भएको भानु जयन्ती कार्यक्रममा अध्यक्ष लिम्बूसहित नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर ६ लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले बताए ।

सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै फोनिज अध्यक्ष लिम्बूलाई नगद ११ हजार रुपैयाँसहितको सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान क्षेत्रीले खेलकुदको माध्यमबाट झापाहित सिङ्गो नेपालकै नाम अन्तर्राष्ट्रियक्षेत्रमा चिनाउन सफल भएको भन्दैं नगद २१ हजार राशिसहित सम्मान पत्रसहितको प्रतिभा पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो ।

साहित्यकार ढुंगाना र ज्येष्ठ नागरिक वडा समितिलाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिएको थियो ।

सम्मानित एवम् पुरस्कृत सवैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज नेपाल, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

यसरी नै अर्जुनधारा संस्कृत वेद विद्यापीठले पनि अर्जुनधारा धामको सभाहलमा विविध कार्यक्रम गर्दै २१० औं भानु जयन्ती मनाएको छ ।

संस्कृत विद्यापीठका अध्यक्ष कृष्ण पौडेलको सभापतित्वमा तथा कवि मोहन घिमिरेको प्रमुख आतिथ्यमा भानुको विषयमा विविध चर्चा गरिएको थियो ।

कार्यक्रममा धाम अध्यक्ष नविन गट्टानी, विशिष्ट अतिथि देवीभक्त श्रेष्ठ लगायतले आ–आफ्नो विचार राखेका थिए । कार्यक्रममा धामका महासचिव शिवलाल खतिवडा, लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराई, रश्मी शेखर, लोकनाथ पौडेल, रामप्रसाद भट्टराई, नगेन्द्र तिम्सिना, इञ्जीनियर शंकर सुवेदी, रमा चापागाईं, सन्तनु ढकाल, पुनम सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

धामका अर्चक अग्नी सिग्देलले सञ्चालन गरेको कार्यक्रममा स्वागत हेमन्त भण्डारीले गरेका थिए ।