जडिया यसरी भए भिखारी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जडिया यसरी भए भिखारी


यलम्वर टाइम्स
११ श्रावण २०८०, बिहीबार ०९:०१

[सन्तोष नेम्वाङ]

मुख्य सडकबाट केहीभित्र सानो झोपडी छ । बाँसको टाँटको टाटीले बेरेको भित्ता र खिया लागिसकेको टिनको छाना छन् । परबाट दृश्य नियाल्दा दयनिय अवस्थाको झल्को देखिन्थ्यो । घरभित्र धिपधिप बलेको टुकीको मधुरो प्रकाश बाहिरबाटै प्रष्ट देखिन्थ्यो ।

मंसीरको महिना थियो । चुल्हामा दाउराको चोइटा भेला पारेर मधुरो रापमा एक महिला सब्जी पकाउँदै थिइन् । छोराछोरीहरु जाडोको कारणले गर्दा बेलैमा ओछ्यानमा घुस्रिएका थिए । साँझ छिप्पीसकेको थियो । सायद ति महिला आफ्नो लोग्नेको प्रतिक्षामा थिइन् । फुङ्ग उडेको केश, फुस्रा हातखुट्टा सुमसुम्याउँदै बारम्बार ढोकातर्फ आँखा ओछ्याउँथी । केही बेरको प्रतिक्षालाई समाप्त पार्दै चप्पल लड्काउँदै लरखरिएको पाइलाले संघार टेक्दै हातमा बोकेको सानो झोलाको पोका ति महिलातर्फ मिल्काइदियो । श्रीमतीले त्यो पोका उठाएर क्रोधित नजरले एकटक आफ्नो श्रीमानतर्फ हेरिरहिन् । लोग्ने सरासर गएर छोराछोरी गुटमुटिएको ओछ्यानमा गएर उत्तानो परेर सुत्यो । श्रीमती चुल्हा छेउबाट जुरुक्क उठेर लोग्नेको सामुन्ने उभिएर क्रोधित मुद्रामा रातको मौनतालाई चिर्दै चिच्याउन थालिन्, ‘पाँच किलो चामल किनेर ल्याउँ भनेर दिएको आधा पैसाले रक्सी घिच्यौं ? म दिनभर ज्याला मजदुरी गरेर पैसा ल्याउने अनि तिमी चाही रक्सीमा पैसा सक्ने ? घरमा छोराछोरी छन् भनेर पनि सोच्दैनौं ? यो दुइ किलो चामलले कति दिन चल्छ ? थुक्क मेरो भाग्य ! यस्तासँग कस्तो दिनमा पो बिहे गरेर आएछु ।’

‘लु लु भो, धेरै भाषण गर्ने होइन, चाँडो भात पका’, लोग्ने चाहिँ आँखा नखोली कराउन थाल्यो । ‘भो तिमीले सिकाउनु पर्दैन । छोराछोरी भोकै छ भन्ने मलाइ पनि थाहा छ । यसरी नै तिम्रो भरमा बसे म मात्र होइन छोराछेरी पनि भोकै सुत्नुपर्छ । तिमी त होटलमा हसुरेर आयौ होला नि !’ लोग्ने केही क्षणमा नै घुर्न थाल्यो । श्रीमतीले झकझकाएर उठाउँदा नउठेपछि छोराछोरी र आफूले भात खाएर सुतिन् ।
शरीरमा आलश्यले घर गरे पश्चात श्रीमती छोराछोरी एकातर्फ थाँती राखेर हप्तामा २ दिन काम गर्यो । पैसा हातमा प्राप्त भए साथीहरुसँग बसेर रक्सी पियो, श्रीमतीलाई गाली गर्यो । श्रीमतीले कतै खेताला गए वापत पैसा कपाएर घरसौदा लिन श्रीमानको हातमा दिए केही मात्रामा दाल चामल किनेर बाँकी पैसा रक्सीमा खर्च गर्ने खालको घरमूली भएपछि घरको अवस्था कस्तो हुन्छ होला ?

मंसीर महिना, अर्जुनधारा जलेश्वर धाममा पुराणको अन्तिम दिन । टाढा टाढाबाट पितृको नाममा दियो बाल्न आउनेहरुको आवतजावत सडकभर बाक्लिन थालेको थियो । मन्दिरका चारै दिशामा माइकबाट भजनका शब्दहरु गुञ्जयमान भइरहेको थियो । त्यो दिन पनि उसको श्रीमतीले बनिबुतो गरेर ल्याएको केही रकम उसको हातमा राखिदिँदै साँझको आहाराको निम्ती भनेर पसलतर्फ पठाइ । हातमा हरियो नोट देखेर गला सुकेर आयो । भित्र कतै प्यास बढेर आयो । मन प्रफुल्लीत हुँदै बजारतर्फ हुइकियो । केही पर रहेको किराना पसलसम्म मस्ती चालमा पाइला चाल्दै पुग्यो । पसलमा केही रुपैयाँको किनमेल गर्यो अनि हातमा तेल र चामलको झोला बोकेर तिर्खाएको राँगा झै रन्थनिएर भट्टितर्फ लम्कियो । भट्टिभित्र नजर दौडायो, दौतरीहरु हातमा रक्सीका गिलास र टेवलमा सितनसहित आधा भरिएको बोतल राखेर आँखा कलेटी पार्दै हल्ला गर्दै पिउँदै थिए । उ पनि सरासर दौतरीको टेवलतर्फ लम्कियो । उ पनि दौतरीसँग काँधमा काँध मिलाई हातमा गिलास बोकेर नारीन थाल्यो । यही धुनमा कति पियो, कति बज्यो केही होस नै रहेन । दौतरीहरुले कति बेला साथ छाडे हेक्का भएन ।

किनमेल गरेर आफूसँग रहेको पैसा साहुनीको हातमा राखिदिएर लरबराउँदै पसल बाहिर निस्कियो । अर्ध बेहोस अवस्थामा रहँदा पनि एउटा इमान्दारी काम चाही हातमा रहेको चामलको झोला नछाड्न नै थियो । उ एक तमास लर्बरिदै अध्याँरोतर्फ लम्किदै थियो । केही बेरको लर्बराईसँगै पैठे जोरी खेल्दा खेल्दै शरीर शिथिल भएर आयो । अध्याँरोमा बेहोस भई ढल्यो ।

बिहान झिसमिसेमा टाउको रन्काउँदै माइक चिच्याइरहेको थियो । आँखा नखुले पनि ज्ञानचक्षु खुल्यो । केही बेरको प्रयास पश्चात आँखा पनि खुल्यो । उषाको लालीले पृथ्वीमा स्पर्श गरेको थिएन । चारैतर्फको बत्ती झिलमिल टिमटिमाई रहेको थियो । आफ्नो छेउछाउमा धेरै मानिसहरु लस्करै बसेको देख्यो । त्योसँगै आफ्नो र अरुको अघिल्तिर चामलको थुप्रो बढ्दै गरेको देख्यो । साथमा केही राता पहेला नोटहरुको पनि दर्शन भयो । चारैतर्फ नजर दौडाएर आफ्नो हातमा रहेको चामलको झोला सम्झियो । त्यो त चुडिएर भुईमा पोखिएछ तर त्यही चामलको थुप्रोमा द्रब्यसहित चामलको सगरमाथा देख्दा एक पटक आश्चर्य चकित भयो । मनमा संकोच पलायो । अन्य भिखारीसँगै बसेर आफू पनि भिखारीसरह नै भिख माग्न बसेको रहेछु भन्ने ग्लानी भयो । अचानक जुरुक्क उठेर घरतर्फ दौडिऔं झै भयो तर चामलसँग द्रब्यको निरन्तर वर्षा देखेर लोभ जाग्यो । अनि आफूलाई त्यही भिखारीको भिडमा समाहित गरी अब उप्रान्त यसै पेशालाई निरन्तरता दिने प्रण सहित त्यो दिनको शुभ बिहानीमा भोले बाबालाई नतमस्तक भई नमस्कार गरेर नयाँ कर्म अंगाल्यो । त्यसपछिका दिनहरु मन्दिरका मुख्यद्वारमा आफ्नो अगाडि चामल र केही द्रब्य छरेर आउने जाने दर्शनार्थीको अगाडि हात फैलाउँदै भिख मागिरहेको देखिन थाल्यो । सायद उसको अन्तरआत्माबाट नै यो पेशा अंगाल्न स्वीकार्यो होला ।