चेकड्याम नबनाएमा विरिङ उत्खनन् कार्य रोक्नुपर्ने « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

चेकड्याम नबनाएमा विरिङ उत्खनन् कार्य रोक्नुपर्ने


यलम्वर टाइम्स
३ भाद्र २०८०, आईतवार ०७:२०

अर्जुनधारा । नदीजन्य सामग्री संकलन तथा व्यवस्थापन सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजना भएको कार्यक्रममा अधिकांश सहभागिले जथाभावि नदीजन्य सामग्री उत्खनन् भएपछि समस्या आएको बताए ।

कार्यक्रममा नदीबाट सामग्री संकलन गर्ने सम्भावित स्थानका बारेमा भूगर्भ विद् यदुनाथ तिम्सिनाले बताए तापनि सहभगिहरुले उक्त विचारमा विश्वास नभएको धारणा राखे ।

भूगर्भ विद् तिम्सिनाले अर्जुनधारा वडा नं. ७ अन्तर्गत पर्ने पाँच स्थानबाट ७१ हजार ७५ घनमिटर सामग्री निकाल्दा नगरलाई एक करोड ६१ लाख ८७ हजार २ सय ९६ रुपैयाँ आम्दानी हुने बताउँदा अन्तरक्रियामा सहभागिहरुले यसअघि पनि यसरी नै रकम संकलन हुन्छ भनेर हामीले विश्वास गरेका थियौं त्यो रकम ७ नं. को कुनै क्षेत्रमा विकास नभएको, खोलाको दुवै किनारमा तटबन्धन नगरिएको र कुलो, पैनी निर्माणमा नगर अनुदार भएको बताएका थिए ।

कार्यक्रममा सरोकारवालाहरुकोतर्फबाट मदन दनुवारले नदी गहिरीएर खेतमा पानी नउठ्ने हुँदा उत्खनन् कार्य यो वर्ष रोकिनुपर्ने बताउँदै होइन भने दुवैतर्फ चेकड्याम बनाएर मात्र उत्खनन् कार्यलाई अगाडि बढाउन सुझाव दिएका थिए ।

अर्का सहभागि भुवनेश्वर शिवाकोटीले आईईई गरेको क्षेत्रमा उत्खनन् नभइ अर्काको खेतबारीबाट उत्खनन् गरेर दुःख दिएको बताए ।

समाज उद्दार संघका पूर्व अध्यक्ष विशाल शिवाकोटीले नगरबाट हाम्रो नम्बरी जग्गाबाट नदीजन्य सामग्री संकलन गर्छ, त्यो रकम खर्च गर्ने तरिका र विधि नहुँदा नदी नजिकको खेत जमिन सुकेर गएको बताए ।

कार्यक्रममा हरिभक्त बरालले विरिङमा यस पटक नदीजन्य सामग्री उठाउन आवश्यक नभएको बताउँदै अनाहकमा सामग्री संकलन गर्दा नगर र प्रहरी मुख दर्शक भएको आरोप लगाए ।

उनले वडा नं. ७ बाट नदीजन्य सामग्री उत्खनन् गरे वडाले नै नीति बनाएर वडामै खर्च गर्ने हो भने सामग्री उत्खनन् गर्न सकिने सुझाव राखे ।

वडा नं. ७ का ट्याक्टर व्यवसायी कालीबहादुर मगरले नगरमा बसेर नगरलाई कर तिरेका छौं, नदीजन्य सामग्री उत्खनन् गर्ने काम ट्याक्टर व्यवसायीहरुलाई दिनुपर्ने माग राखे ।

वडाध्यक्ष गोविन्द खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुलीले उठेका सुझावलाई कार्यान्वयतर्फ लैजान अघि नगरमा बृहत छलफल गरिने बताइन् ।

वडा नं. ७ र ८ को अन्तरक्रिया भनिए पनि अधिकांश वडा नं. ७ का मात्र सहभागि थिए । कार्यक्रमको सञ्चालन भने योजना अधिकृत हेमराज सेढाइले गरेका थिए ।