गोरुः विवाद नबढाऔं « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

गोरुः विवाद नबढाऔं


यलम्वर टाइम्स
८ भाद्र २०८०, शुक्रबार ०७:०१

गोरु हत्याको विषयलाई लिएर पूर्वी क्षेत्रमा बहस चलिरहेको छ । धर्म निरपेक्ष राष्ट्रमा कुनै जाति वा समुदायले आफूले मन पराएको सब्जीका रुपमा गोरु काटेर खाइन्छ भने त्यसलाई छलफलको रुपमा ल्याउन सकिन्छ । तर हिन्दु र गैरहिन्दु बीच विवाद बढाउने खालका उच्छृङ्खल शब्द व्यक्त गर्नु, गराउनु उचित हुँदैन । पञ्चायत शासनकालमा पनि स्त्री जनवारहरु काट्न प्रतिबन्ध थियो । भैंसी, बाख्रा आदि काटेर खाएको निहुँमा प्रहरीले पक्रिएर थुनेको घटना विर्षिएको छैन नेपाली समाजले । प्रजातन्त्र स्थापनापछि नेपाली समाजमा स्त्री जनवारहरु काटेर खाँदा न त प्रहरीले समात्न खोज्यो न त संविधानले नै छेक्यो ।

नेपालमा २०७२ को संविधानले मुलुकलाई धर्म निरपेक्ष राज्य घोषणा ग¥यो । राज्यका सबै जातजातिलाई उतिकै सम्मान र मौलिक हक, अधिकार प्राप्त हुनेछ भनि संविधानमा उल्लेख छ । नेपाली राष्ट्रियतामा उन्मुख भई एकताको बाटोमा अगाडि बढ्न प्रेरित गर्ने छ भनि सम्बोधन भएपछि पुस्तौंदेखि केहि जातिले मन पराएको आहारामा गोरु परेको हुँदा केही स्थानमा काटेर खान थालेका हुन् । त्यति धेरै हत्या गरेर सेवन गरेका त थिएनन् । तर सनातनी हिन्दु धर्मका केही व्यक्तिहरुले चर्को बहस गराई चर्चामा ल्याएपछि गोरुको मासु खाएको विषयमा अनेकौं टिक्काटिप्पणी चलेको हो ।

मूलधार लगायत मान्यताप्राप्त सञ्चार माध्यमले त्यसलाई ठूलो बहसका रुपमा उठाएका छैनन् । तर युट्यूब र फेसबुक सञ्जालले आरोप–प्रत्यारोपको बहस चलाएपछि पूर्व क्षेत्रमा कोलाहलको वातावरण सिर्जना भएको हो । कसैले पनि सार्वजनिक ठाउँमा गोरु हत्या गरेर खाएको देखिदैन । लुकिछिपी मासु खाएको विषयलाई लिएर विरोध गर्नु, प्रहरी प्रशासन खन्याउँनु, आफ्नो फेसबुक वालबाट साम्प्रदायिक सद्भाव खल्बलाउने खालका नानाथरी शब्द ओकल्नु ठीक नहुने हुँदा विवादलाई बहसको रुपमा ल्याई समाधान गर्नु नै बुद्विमानी हुन्छ । त्यसतर्फ सबैको ध्यान पुगोस् ।

एकातिर बहस चलिरहेको बेला यी नै जाति जनजातिहरुलाई आक्रमण गर्ने, गौ हत्या भयो भनी साधुसन्त लगायत धर्मका नाममा पार्टीहरु पनि खनिनुले त्यसले अराजकता निम्त्यायो । सभ्य समाजको लागि पनि सधैको लागि बाटो बन्द गर्ने काम गर्यो । एकातिर त्यसको विरुद्धमा भदौ ९ गते गोरुको मासु खाइन्छ भन्दै आदिवासी जनजातिहरुले पनि धम्कीका भाषा प्रकट गर्दै आउनुले दुवै समूह अराजकको बाटोमा हिंड्दै गरेको हुँदा सचेत नागरिक, बुद्धिजीवि र राजनीतिक दलले त्यसलाई साम्य पार्ने बाटो देखाउन जरुरी देखिन्छ । दुवै समूह अराजक भए प्रशासन त्यसलाई मिलाउने बहानामा आक्रमण गर्न बाहेक अरु केही गर्न सक्दैन त्यसैले पनि सल्किएको आगोलाई पेट्रोल छर्ने काम नभइदिए उचित हुने देखिन्छ ।