माओवादी नेताहरु गाउँ केन्द्रीत हुँदा जनता हर्षित « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

माओवादी नेताहरु गाउँ केन्द्रीत हुँदा जनता हर्षित


यलम्वर टाइम्स
१७ भाद्र २०८०, आईतवार ०७:४०

माई । लामो समयपछि माओवादी नेताहरु गाउँ–गाउँमा केन्द्रीत भएपछि कार्यकर्ताहरु हर्षित भएका छन् ।

चुनावपछि नेताहरु कार्यकर्ताहरुलाई बेवास्ता गर्दै राजधानी केन्द्रीत भएपछि माओवादी समर्थक गाउँका कार्यकर्ताहरु निराश भई वैकल्पिक बाटो खोजिरहेको बेला जनतासँग माओवादी अभियानले हर्षित बनाएको प्रतिक्रिया दिए ।

शनिबार इलामको माइ नगरपालिका वडा नं. ८ स्थित कलकतेमा दिनको ठीक १२ः३० बजे घर–घरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहित अभियान उद्घाटन भएपछि उपस्थित कार्यकर्ताहरु स्वतस्फूर्त माओवादी जिन्दावाद, जनताको अधिकार गाउँ–गाउँमा ल्याउछौ भन्ने नारा लगाएका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य हरिकुमार रानाले सामन्तवादको अवशेषले अधिकार जनतामा अझै आउन नदिएको बताए ।

उनले भ्रष्टाचारको सञ्जाल तोड्न माओवादी सरकार लागि परे पनि एमाले बाधक भएको बताउँदै गाउँबाटै जनता जागे भ्रष्टाचारीहरुलाई एक ठाउँमा ल्याउन सकिने बताए ।

प्रमुख अतिथि रानाले हाम्रो मिसन आउँदो ०८४ भएको हुँदा गाउँमा श्रमदान, सद्भाव र एकताको बाटोमा जान निर्देशन गरे ।

कार्यक्रममा प्रेस सेन्टरका पवन किरातीले अबको समाचार जनताका समस्या केन्द्रीत भएर जाने बताउँदै दलाल, पूँजीवादीको पक्षपोषणले नेपाली सञ्चार कुहिरोको काग जस्तो भएको आरोप लगाए ।

वडा नं. ८ का पार्टी अध्यक्ष मदनकुमार लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा इन्चार्ज दावा शेर्पा, वडा नं. २ का अध्यक्ष राम थापा, सुवास राई लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमपछि लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिको कार्यालय र कम्पाउण्ड सरसफाई गरेका थिए । करिब २ घण्टा लगाएर श्रमदान गर्दा द्वन्दकालमा श्रमदान गर्दै गाउँको संगठन विस्तार गरेको याद आएको नारायण दाहालले प्रतिक्रिया दिए ।

उनी जस्तै सविन राई, छेम्बी शेर्पा, जीतबहादुर गुरुङले जनतासँग माओवादी अरु ठाउँमा के कस्तो हुन्छ तर, आफ्नो नगर र वडामा प्रभावकारी हुने प्रतिक्रिया दिए ।