सरकार ! असुरक्षित बन्दैछ सडक « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सरकार ! असुरक्षित बन्दैछ सडक


यलम्वर टाइम्स
१९ भाद्र २०८०, मंगलवार १०:४३

यो साता सवारी दुर्घटनाबाट धेरैले ज्यान गुमाउनु परेको छ । राज्यबाट दुर्घटना न्यूनिकरणका धेरै आधारहरु प्रयोग गर्दा गर्दै पनि दुर्घटना दिनहुँ बढ्नाले सडक असुरक्षा भएको प्रमाण बन्दै गएको हो । सडकमा लोड गाडीको स्पीड कति हो ? यात्रु बहाक बस र मोटरसाइकलको गति कति हो ? यसको मापन नभएकै कारण दुर्घटना हुन पुगेको देखिन्छ ।

गत साता टिपरको ठक्करबाट कनकाई अस्पतालका डाक्टर सप्तरी निवासी यादवको मृत्यु हुन पुग्यो । वैदेशिक रोजगारीको तयारीमा रहेका झापा बाह्रदशीका हेमरमको पनि दुर्घटनाबाटै मृत्यु भयो । त्यतिमात्र होइन, दैनिक जसो गाडी एकअर्कामा ठोकिनुले हामी हिंड्ने सडक असुरक्षित हुँदै गएको देखिन्छ । यात्रा आफैमा सुनौलो क्षण हो । धेरै इच्छा र भावनासँगै केही केही दुःख पनि जोडिएको हुन्छ । धेरै जसो सुनौलो भावनामा यात्रा गर्दा गर्दै कति बेला दुःखको भुमरीमा फसिने हो थाहा हुन्न । त्यस्तै भुमरीमा प्रत्येकको परिवारका सदस्यहरु परिसकेका छन् । हामीले हिंड्ने र विश्वास गर्ने बाटा र यात्राका साधनहरु स्वर्गका बाटो भएर आउँछ भने त्यो भन्दा दुःखको दिन अरु हुन सक्दैन ।

विशेष गरी यतिबेला चाडपर्वले ढपक्कै छोप्दै आएको छ । चाडपर्वमा सबै मानिसहरु हतारमै हुन्छन् । यस्तो अवस्थामा बढी दुर्घटना भएको यसअघिको परिघटनाले हामीलाई पाठ सिकाएकै छ । त्यसैले यात्रा बहाक साधन मोटरसाइकल चालक, भारी बोकेर हिंड्ने टिपर, ट्याक्टर र ज्रेब्रा क्रसिङ जस्तो विषयमा जिल्ला प्रशासनले छलफल र राजनैतिक दलहरुसँग अन्तरक्रिया साथै ठाउँ–ठाउँमा ट्राफिक पोष्ट निर्माण गर्दै छलफल र अन्तरक्रिया चलाउँदै सचेतनाको सन्देश दिन जरुरी देखिन्छ । त्यसतर्फ सबैको ध्यान पुगोस् अनुरोध छ ।