गाउँका माओवादी कार्यकर्ताले झोकिदै नेताहरुलाई राम्रा सुझाव दिए « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

गाउँका माओवादी कार्यकर्ताले झोकिदै नेताहरुलाई राम्रा सुझाव दिए


यलम्वर टाइम्स
२१ भाद्र २०८०, बिहीबार ११:५१

बुद्धशान्ति । लामो समयपछि माओवादीले जनतासँग भलाकुसारी गर्दा नेताहरुलाई आरोपमात्र लगाएनन् परिवर्तनका बाटोहरु पनि देखाएका छन् ।

बुद्धशान्ति १ होक्से स्थित जनतासँग माओवादी भन्ने अभियान अन्तर्गत भएको अन्तरक्रियामा माओवादी कार्यकर्ताहरुले नेतालाई परिवर्तनको बाटो देखाउनु भयो, त्यसलाई दीर्घकालिन कसरी लैजान सकिन्छ भनेर जनतामाझ नआएको भन्दै आपत्ति जनाएका थिए ।

१० वर्षे जनयुद्धबाट पार्टीले सत्तामा पुग्ने बाटो देखेसँगै शहरमा केन्द्रीत भएको हुँदा पार्टीको हविगत गिर्दै गएको आरोप लगाए । कार्यक्रममा संगठनलाई तिब्रता प्रदान गर्न शहर केन्द्रीत नभइ गाउँ केन्द्रीत हुन सुझाव राख्दै सहयोग गर्ने वचन दिए ।

अन्तरक्रियामा ८५ वर्षिय वृद्धाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र पु¥याइदिनु भनी अभियानमा सहभागि केन्द्रीय सदस्य तथा प्रदेश सांसद गोम्बु शेर्पालाई थमाइ दिएका थिए ।

घर, घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भएको कार्यक्रममा नेत्र हिन, असक्त र वृद्धहरुलाई दोसाल्ला ओढाइ सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य प्रदेश सांसद गोम्बु शेर्पाले रुपान्तरणको अभियान नेता र कार्यकर्तामात्र होइन, आमजनता र माओवादी बीचको सम्बन्धलाई गाढा बनाउन सुरु भएको बताए ।

हामी हिमालका जनप्रतिनिधि तराईमा झरेका छौं, तराईका नेताहरु पहाड र हिमाल तिर चढ्नु भएको छ । केन्द्रीय नेताहरु पनि जनताको घरआँगनमा दौडिरहेका छौं । पार्टी रुपान्तरणको अभियानमा ०८४ लाई मध्यनजर गर्दै आएको अधिकारलाई पूर्ण स्थापित गराउन जनतासँग आएको बताए ।

प्रमुख अतिथि समेत रहेका शेर्पाले एउटा चिलको आयु ८०–८५ वर्षसम्म हुने गर्छ । ४० वर्षको वयस्क उमेरमा तिनको चुच्चो बढेर चारो नखाने अवस्थामा पुग्छ । प्वाखहरु बढेर उड्न नसक्ने हुन्छन् । सिकार समात्ने नङ्ग्राहरु बढेर दुःख दिइरहेको हुन्छ । वयस्कमै मरे तुल्य हुने चिल पहाडको चट्टानमा गएर लडिबढी गर्छ । पत्थरमा उसको चुच्चो ठोकाउछ । रगताम्य हुन्छ । पछि सिकार खाने साइजमा चुच्चो आएपछि बढेर गएको प्वाखहरु झिक्छ र पुनः शक्तिशाली हुन्छ । त्यस्तै यो रुपान्तरण अभियानले पुनः शक्तिशाली बन्नका लागि चिलको जस्तो संघर्ष गर्नुपरेको कथा सुनाउँदै माओवादी कार्यकर्ताहरु शक्तिमा केन्द्रीत हुन पुनः एक पटक आफैमा संघर्ष गर्नुपर्ने बताए ।

उनले झापाको बुद्धशान्ति १ र ४ मा भएको सम्मेलन सशक्तमात्र छैन, पार्टी केन्द्रीय समितिलाई समेत मार्ग निर्देशन गर्ने विचार राखेको प्रति प्रशंसा गर्दै माओवादी जन–जनबाट अझै नहराएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि हरिकुमार रानाले पछिल्लो पटक माओवादीले गरेको राम्रो कामप्रति कार्यकर्तामार्फत प्रचार नहुँदा विभिन्न आरोप खेपिरहेको अवस्था छ । यसलाई चिरेर लैजान कार्यकर्ताहरुमा आग्रह गरे । उनले इलामको संगठन विस्तारका बारे जानकारी गराउँदै २५ वर्षअघि माओवादी भएर हिंडेको र अहिले अन्य पार्टीमा काम गर्दै गरेको कार्यकर्ताहरु माओवादीको घर–घरमा माओवादी, जन–जनमा माओवादी अभियान देखेर पुनः पार्टीमा प्रवेश गरेको अनुभव सुनाएका थिए ।

कार्यक्रममा प्रदेश सदस्य खड्ग तिम्सिना, मात्रिका पौडेल, अर्जुन पाण्डे, बुद्धशान्ति अध्यक्ष प्रेम नेम्वाङ, अभियानका उपप्रमुख तारा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वडा नं. १ का अध्यक्ष पुरन बरालको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई शम्भु ढुंगेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नेत्र बास्तोलाले गरेका थिए ।