नागरिकता मात्र खोस्टा होइन « Yalambar Times
२ श्रावण २०८१, बुधबार

नागरिकता मात्र खोस्टा होइन


यलम्वर टाइम्स
२४ भाद्र २०८०, आईतवार ०९:३१

[सन्तोष नेम्वाङ]

‘दाजु कता हुनुहुन्छ ? तपाईसँग भेट गर्नु थियो’, मेरो दूरभाष यन्त्रमा कुनै एक जनाले मलाई भेट्ने प्रस्ताव राख्यो । ‘तपाई को बोलेको’ मैले प्रतिप्रश्न गरे । अचानक आएको प्रस्तावले म रनभूल्लमा परेको थिए । बोलेको आवाज चिनेजानेको जस्तो पनि लागेन । उताबाट परिचय खुलायो ‘दाजु म राम खिलावन । चिन्नु भएन ? म राम चोकबाट, कुशेश्वरको छोरा । अहिले चिन्नु भयो ।’
‘ए… अँ चिने’ मेरो ठम्याइ अझै धुमिल थियो । अझै पनि परिचय स्पष्ट भएको थिएन तर पनि चिनेको आभाष गर्दै प्रश्न गरे ‘के काम थियो ?’

‘दाजु यस्तो कुरा फोनमा गर्नु भन्दा भेटेर नै कुरा गर्छु । भरै बजारमा १२ बजे भेटौं हैं ?’ उसको अनुधरो थियो । ठीकै छ भरै भेटेर कुरा गरौंला भनेर दूरभाष यन्त्रलाई बिश्राम दिएँ । उसले तोकेको समय र स्थानमा त्यो मानिससँग साक्षात्कार भयो । चिनजानकै मानिस रहेछ । गाउँगाउँ घुमेर आइसक्रिम बेच्ने राम खिलावन रहेछ । भेट पश्चात उसले आफ्नो समस्याको बेली विस्तार लगायो ।

‘दाजु खास कुरा के भने मेरी दिदीको छोरी छ । दिदीको विवाह भारतमा भएको हो । तर, भान्जी हामीसँगै बस्छे । उसको नागरिकता बनाउनु थियो । उपाय के होला ? तपाईको त धेरै जनासँग चिनजान छ, त्यसैले तपाईलाई सम्झिरहेको थिएँ । दाईले यति काम गरिदिनु पर्यो ।’ म ट्वाल्ल परेर हेरेको हेर्यैं भएँ । आशाहरु पनि कति सस्तो । त्यो भन्दा पनि सस्तो नेपाली नागरिकता ! चटके डमरु जस्तो । एक पटक प्याट्ट पड्कायो अनि उसको चटक वास्तविकतामा बदलिहाल्ने । मलाई यस्तै प्रकारका अनुरोधहरु धेरै आयो । जति आयो सबै मधेसी मुलका व्यक्तिको आयो । न जन्मदर्ता थियो न बसोबासको आधार ।
पहिलाको सरकारले बदर गरेको नागरिकता विधेयकलाई त्यसपछिको सरकारले सदर गरे पश्चात देशभर चाडपर्व जसरी नै हर्षोउल्लासका साथ मानिसहरु वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म भिड एकत्रित हुन थाल्यो । प्रशासन पनि भिड थेग्न नसकेर टोकन दिएर पालो पालोको नियम बनाएको थियो । मानिसहरुले नबुझेर हो या बुझ्न नचाहेर हो, नागरिकता विधेयक पास हुँदा विशेष गरेर जन्मको आधारमा नागरिकता बनाएका बुबाआमाको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने भन्ने आशयका साथ लागू गरिएको हो ।

यो लेख लेख्दै गर्दा नागरिकता विधेयकमा के के दफा छ, यसको बारेमा म केही बोल्न चाहन्न । तर यो विधेयक पास भएर कार्यान्वयन हुनुको अर्थ चौरमा चकलेट छरेर केटाकेटीहरुलाई टिप्न छाडिदिएको झै भान भइरहेको छ । ‘मेरो भान्जी, मेरो नातिनी, मेरो भतिज यस्तै प्रकृतिको कागज बोकेर वडा कार्यालय धाउनेको घुइँचो देख्दा नागरिकता होइन साइनो भजाउन गएको झै लाग्न थाल्यो ।

यसरी नै जिल्ला प्रशासन कार्यालयमा पनि ९० प्रतिशत तराई मुलका नागरिकहरु मात्र लस्करमा देखिन्थ्ये । यो होइन कि तराई मुलका मानिसका मात्र जन्मको आधारमा नागरिकता बनिएको थियो । यदाकदा पहाडी मुलका जनताहरुले जन्मको आधारमा नागरिकता बनिएको छ । उनीहरु पनि पीडित छन् तर जुन प्रकारले नागरिकता विधेयक पास भएर कार्यान्वयन हुना साथ तराईवासीहरुमा उत्साह साथ लावा लस्कर देखियो त्यस अनुपातको भिड पहाडी मुलका नागरिकमा देखिएन । हुन सक्छ तराई मुलका नागरिकमा यो समस्या धेरै होला तर जुन अनुपातमा नागरिकता बाँडियो त्यसमा धेरै शंका गर्ने ठाउँ छ । यसका ज्यूँदा उदाहरणहरु हाम्रै नगरमा पनि सुनियो र एक दुई पटक समाचार पनि हेरियो । भारतीय नागरिकहरुले पनि नेपाली नागरिकता बनाएर खल्तीमा बोकेर शहरका गल्ली गल्ली हिडेको समचार पनि सुनियो ।

नागरिकता पाउनु कुनै ठूलो कुरा होइन तर प्रक्रियागत आधारमा नागरिकता पाउनु एक जिम्मेवार नागरिकको हैसियत दर्शाउनु ठूलो कुरा हो । जसमा देश बोकेको अनुभूति हुन्छ । देश दुख्दा आफूलाई दुखोस् र देश हाँस्दा आफ्नो अन्तरंग हाँसोस् । अनि नागरिकता हातमा बोकेर म एक सच्चा नेपाली नागरिक हुँ भनेर छाती पिट्न पाउँ । चाहे त्यो वंशज होस्, जन्मको आधारमा होस् या अङ्गिकृत होस् । नागरिकता त रुपैयाँ खर्चेर पनि लिएका छन् । यसरी रुपैयाँ खर्च गरेर नागरिकता लिएका मानिसहरुको शतप्रतिशत दोहोरो नागरिकता छ । यसरी दोहोरो नागरिकता लिएका नागरिकहरु हाम्रै नगरभित्र अनेकौं छन् । कोही राजनीतिक पार्टीको झोला बोकेको आधारमा त कसैलाई पार्टीको झोला बोकोस भनेर नागरिकता दिलाइएका छन् । यदाकदा ठूला मानिसको ज्यु हजुर गर्दै पाउँ मोलेको आधारमा पनि नागरिकता दिलाइएका छन् ।

यस प्रकारका नागरिकताधारीहरुलाई देश दुख्दा न उनीहरुलाई दुख्छ, न देश हाँस्दा उनीहरु हाँस्छन् । उनीहरु आफ्नो स्वार्थ सिद्ध गर्नका लागि मात्र नागरिकता जस्तो हतियार बोकेर हिंडिरहेका हुन्छन् । म मान्दछु नागरिकता लिन प्रमाण भए कष्ट गर्नु पर्दैन तर बिना प्रमाण सहज पनि हुँदैन । नागरिकता विधेयकमा के लेखेको छ त्यसभित्र म जान चाहन्न । त्यसमा लेखेको दफा र बुँदामा के छ त्यसलाई पनि नकोट्याउ तर यो चाही लेखेको छैन होला कि नागरिकता पैसामा बिकोस् । बिना प्रमाण वितरण होस् । तर यो चाही लेखिएको होला कि सबै जनताले इमान्दारीका साथ वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रमाण बोकेर जाउँ र बिना अवरोध एक सच्चा नेपालीले नेपाली नागरिकता प्राप्त गरोस् । यो उसको मौलिक अधिकार हो । तर नहोस् कि साइनो बेचेर, कुनै पार्टीको झोला बोकेर अनि पार्टीको झोला बोकोस भनेर र पैसाको आधारमा नागरिकता बाँडियोस् । नागरिकता मात्र खोस्टा होइन यसलाई छातीमा टाँसेर म एक सच्चा नेपाली नागरिक हुँ भन्ने अभिमान जगाउने निस्सा प्रमाण हो ।
निकै बेरको मौनता पश्चात मेरो आशय बुझेर राम खिलावनले घोसे मुन्टो लगाएर केही नभनी जुरुक्क उठेर आफ्नो गन्तव्यतर्फ लम्कियो ।