समाज कस्तो बन्दैछ ? सोच्न आवश्यक « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

समाज कस्तो बन्दैछ ? सोच्न आवश्यक


यलम्वर टाइम्स
२८ भाद्र २०८०, बिहीबार १०:४७

समाजमा अर्थतन्त्रको प्रभाव नराम्रो गरी खच्किदै गइरहेको बेला समाजभित्रै आर्थिक चलखेल गर्नेहरुको गिरोह फैलिदै गएको हामी पाउँछौं । चाहे व्यापार व्यवसायमा होस्, चाहे लेनदेनमा होस् या त वैदेशिक रोजगारीको बाटोमा होस् । तीन वटै पाटोमा आर्थिक अभावको चरम विन्दूमा अर्थतन्त्र पुगेको हुँदा ठग गिरोह जताततै देखिन थालेको हो । नझुक्याउ त दानापानी अभाव हुने । ठाटसँगले हिंड्न नसकिने र समयसँग लड्न पनि नसकिने । झुक्याउँ त ठग गिरोहको रुपमा परिचित हुन पुगिने । समाजमा अल्छीया प्रकृति बढ्दै गएको कारण जताततै नकरात्मक सोचको विकास भएको हुँदा ठगहरुको विगविगी देखापरेको हो ।

यसअघि समाज आफैमा मिहेनती समाज थियो । विश्व समाजले लडाकु, मिहेनती र शान्त समाज भनेर नेपालीलाई राम्ररी चिनेका थिए । मिहेनती समाज भएकै कारण विदेशी अन्नमा नेपाली समाज रमाउँदैन थियो । कृषि प्रधान देश भनेर ५० वर्ष अगाडि नै आफ्नो छाप विश्व सामु राखेको इतिहास छ । तर हिजोआज नेपाली समाज अल्छीको भूमरीमा फस्दै गएको कारण अन्नमा मात्र होइन सामान्य तरकारी पनि भारतकै भरमा चल्नु परेको छ । महंगो र नयाँ–नयाँ चिजमा अलमलिदा समाज आरिसे र चाँडो धनी हुने सोचमा गएको कारण हरेक कुरामा ठग्न र ठगिन बाहेक अर्को विकल्प सामाजले देखेन ।

यसरी नै समाजले यस्ता नकरात्मक बाटो देख्ने हो र पहिल्याउने हो भने हाम्रा अगाडि धेरै विकृति र विसंगती हेर्न र भोग्न पुग्ने छौं । बिहान–बेलुका हाम्रो मिहेनत, फेसबुक र नकारात्मक कमेन्ट र आरिसे भावनामा दौडिएको हुँदा समाज अल्छेपनको सिकार हुन पुग्यो । त्यसैले मेनपावर ठगी, लेनदेनमा समस्या, चोरी पैठारी वृद्धि र कुलतमा समाज फसेको देखिन्छ । त्यतिमात्र होइन हनी ट्रयापिङ, अकालमा मृत्यु, आत्महत्या जस्ता विकृति हामी दिनहुँ देख्छौं र भोग्छौं । त्यसको अन्त्यका लागि समाज मिहेनती, रचनात्मक, भावनात्मक बन्नुपर्छ । एकअर्कामा सद्भाव बढाउनु पर्छ । त्यसको भूमिका सामाजिक व्यक्तित्व, स्थानीय सरकार, संघसंस्था र विद्वत वर्ग लाग्नु जरुरी छ र यो कुरा प्रत्येक नेपालीले मनन गर्नुपर्ने हुन्छ ।