विद्यार्थीहरुलाई शिक्षक महासंघको आग्रह « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

विद्यार्थीहरुलाई शिक्षक महासंघको आग्रह


यलम्वर टाइम्स
४ आश्विन २०८०, बिहीबार ११:४२

[पुण्य सुवेदी]

प्रिय विद्यार्थी भाइबहिनीहरू,

१) अबका केही दिन सरकारलाई पढाउनु पर्ने भयो, त्यसैले हाम्रा कक्षा कोठाहरू बन्द रहनेछन् ।

२) सरकार शिक्षा ऐन बनाउन खोज्दैछ, संसदमा विधेयक दर्ता भएको छ । यो विधेयक ऐन बनेमा देशका उत्कृष्ट त के मध्यम जनशक्तिले पनि शिक्षक पेशा रोज्ने छैनन् ।

३) यो पेशामा उत्कृष्ट जनशक्तिको प्रवेश शैक्षिक गुणस्तरको आधार हो । सरकारले त्यो चाहेको छैन । हामी उत्कृष्ट जनशक्तिलाई शिक्षक पेशामा ल्याउन चाहन्छौँ ।

४) तिमी भन्दा अघिल्लो पुस्ताका लाखौँ शिक्षक , कर्मचारीहरूलाई सरकारले पेशाको भविश्यको सुनिश्चितता नगरेर उनीहरूको जिन्दगी बर्बाद गर्न खोजेको छ । हामी तिम्रो पुस्तालाई यस्तो शोषणबाट जोगाउन चाहन्छौं ।

५) विद्यालयहरूलाई ७५३ किसिमका फरक कानुनहरूले शासन गर्न खोजिएको छ । भोलि तिमीले माध्यमिक शिक्षा पूरा गर्दा कुन पालिकाको सर्टिफिकेट हो भनेर मूल्याङ्कन हुनसक्छ । हामी राष्ट्रिय मापदण्डको खोजीमा छौँ ।

६) तिमीले एउटै पोशाकमा देखेका हामी अनेक थरी शिक्षक मनभरि पीडा बोकेर तिम्रो अगाडि मुस्काएका थियौँ । अब मनदेखि खुशी भएर तिम्रो अगाडि आउने सङ्कल्प लिएका छौँ ।

७) झुटो नबोल्नू, कसैलाई धोका नदिनू भनेर तिमीलाई भनिरह्यौँ तर सरकारले वर्षौँदेखि हामीलाई ढाँटिरहेको कहिल्यै सुनाएनौँ । अहिले सुनाउन बाध्य छौँं । झुट, धोका र अपमान त सरकारबाट हामीले कति सह्यौँ, अब सहन्नौँ भनेर काठमाडौं आएका छौँ ।

८) सार्वजनिक शिक्षा सुधार्न हामीले पहल ग¥यौँ, तिमी र तिम्रा अभिभावकको सहयोग पनि पायौँ तर यो सरकार सार्वजनिक शिक्षालाई ध्वस्त पार्न उद्यत देखियो ।

९) निजी विद्यालयले आन्दोलनको धम्की दिँदा लुरुक्क परेर उनीहरूको माग पूरा गर्ने सरकार तिमी र हामीसँग सम्बन्धित जायज माग पूरा गर्ने सहमती गरेर पनि पछि हटेको छ ।

१०) त्यसैले , यो केही दिनको शैक्षिक क्षतिको परिपूरण तिमी हामी सल्लाह गरेर गर्नेछौँ । अहिलेलाई हाम्रो पेशागत हक, हित र तिम्रो भविश्यको लागि यो लडाइँमा हामीलाई सबैभन्दा बढी साथ तिम्रो र तिम्रो अभिभावकको चाहिएको छ ।

११) आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न हामीलाई पटक पटक विद्यालय बन्द गर्न दवाव दिनेहरू आज सामुदायिक विद्यालयलाई कमजोर बन्न नदिने आन्दोलनमा विद्यालय बन्दको विरोध गरिरहेको तिमीले देखेकै छौ । फेसबुकबाट