‘किराँत प्रदेश’ जनमुक्तिको प्रस्ताव « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

‘किराँत प्रदेश’ जनमुक्तिको प्रस्ताव


यलम्वर टाइम्स
८ आश्विन २०८०, सोमबार १२:०८

झापा । प्रदेश १ को नाम कोशी राखेपछि प्रदेश नं. १ तनावग्रस्त बनेको छ । पहिचानवादीहरु कोशी नाम स्वीकार्य नहुने भन्दै पहिचानका आधारमा नामाकरण गरिनुपर्ने माग राखेर आन्दोलनरत छन् ।

कोशी नाम खारेजीका लागि पहिचानवादी दल, नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संघसंस्थाहरु लगायतलले पुनः नामाङ्कन संयुक्त संघर्ष समिति निर्माण गरी आन्दोलनलाई पेचिलो बनाउँदै आए पनि प्रदेशको नाम के राख्ने भन्ने विषयमा साझा धारणा भने बनाउन सकेका छैनन् ।

तर यति बेला राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले साझा नामको रुपमा किराँत प्रदेश लिएर जान प्रस्ताव गरेका छन् । उनले किराँतमै सबैको पहिचान समेटिने हुँदा त्यसलाई साझा नामको रुपमा अगाडि बढाए आन्दोलनले अझ गति लिने बताउँदै पहिचानवादी बीच प्रस्ताव गरेका हुन् ।

उनले लिम्बूवान, खम्बूवान, कोचिलादेखि धिमाल र याक्खा स्वायक्त क्षेत्रसम्म रहने गरी हालका लागि किरात प्रदेशको परिकल्पना गरेर अघि बढ्न पहिचानवादीहरुको बीचमा प्रस्ताव राखेका हुन् ।

‘म राष्ट्रिय जनमुक्ति पार्टी लगायत सात घटकबाट एउटा प्रस्ताव गर्न चाहन्छु,’ केही दिनअघि प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले झापामा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कोशी नाम खारेजीपछिको विकल्प के हो त ? यहाँ हामी अल्मलिरहेका छौं । कोशी नाम खारेजीको आन्दोलन त छँदैछ, तर आन्दोलनपछिको विकल्प के हो भन्दाखेरि प्रदेश नं १ को नाम किरात प्रदेश भनेर एकचोटि हामी एक भएर सोचौं ।’

उनले किरात प्रदेश भनेर एकताबद्ध हुन सके त्यसले पहिचानको आन्दोलनमा ठूलो एकता र बल पुग्ने बताए । कोशी प्रदेश नाम खारेज भएपछि नाम के राख्ने भन्ने विषयमा पहिचानवादीहरुको बिचमा मत भिन्नताहरु रहेका छन् ।

कसैले लिम्बुवान किरात, कसैले किरात लिम्बुवान, कसैले किरात, कसैले किरात लिम्बुवान शेर्पालुङ जस्ता नाम राख्नुपर्ने तर्क गरिरहेका छन् ।

प्रदेशको नाम किरात लिम्बुवान राख्नुपर्ने प्रचार तीव्र भएपछि केही दिनअघि मात्रै कोचिलाहरुको पनि पहिचान सम्बोधन हुनुपर्ने भन्दै ती समुदायका अगुवाहरुले अलग्गै आन्दोलन थाल्ने तयारी गरेका थिए ।