विरिङ पुल दशैंपछि बनाउँछुः सभामुख घिमिरे « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

विरिङ पुल दशैंपछि बनाउँछुः सभामुख घिमिरे


यलम्वर टाइम्स
९ आश्विन २०८०, मंगलवार ०९:५९

अर्जुनधारा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भत्किएको विरिङको पुलको अवलोकन गर्दै चाँडै निर्माण गर्ने अभियानमा आफू जुट्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा २ को भ्रमण गर्ने क्रममा आज (मंगलबार) नगरपालिकाको सभाहलमा जनतासँग अन्तरक्रिया गर्दै क्षेत्र नं. २ का जनताको लागि सहज र विकास निर्माणमा सजिलो होस् भन्नका लागि आफू जनतासँग साक्षत्कार गर्न आएको बताए ।

सभामुख घिमिरेले आफ्नो क्षेत्रको समस्यालाई समाधान गर्न बिर्तामोडमा कार्यालय सञ्चालन गरेको बताउँदै भत्किएको विरिङको पुल यस क्षेत्रको ठूलो समस्या भएको बताउँदै यसको डीपीआरसँगै पर्व पछाडी थालनी गर्ने बताए ।

त्यतिमात्र होइन खोलाधारको तटबन्धन, पैनी, कुलो र बाटोका लागि ३५ करोड ५६ लाख यसै क्षेत्रमा विकासका लागि छुट्याइएको बताउँदै अर्जुनधारा क्षेत्रलाई विशेष जोड दिएको पनि बताए ।

उनले सुकुम्बासी समस्या समाधानका लागि राष्ट्रिय नीति अनुसार अगाडि बढाइने बताउँदै धनीपूर्जाका लागि लिइने राजश्वमा फेरबदल गर्न सकिने पनि बताए ।

कार्यक्रममा सुकुम्बासी समस्या समाधानका लागि आफ्नै पालमा केही गर्ने थप जिम्मेवारी आएको बताउँदै वन ऐन र भूमि ऐनका कारण यहाँमात्र होइन अन्य क्षेत्रमा पनि समस्या देखिएको हुँदा त्यसको निकासको लागि आफू पहल गर्ने बताए ।

छलफलमा कर्मचारी समस्याको विषयलाई लिएर राजु गिरी, उद्योग वाणिज्य संघको विषयलाई लिएर इन्दिवर खड्का, भूमि समस्याको विषयमा तुलसी प्रधान, शिक्षा समस्याको विषयलाई लिएर सूर्य खतिवडा, सडक समस्याको विषयमा अर्जुन मेचे, शनिश्चरे बहुमुखी क्याम्पसको विषयमा मोहन ओली, धनीपूर्जामा लाग्ने करका विषयमा बीरबहादुर राई, युवाहरुको समस्याका बारेमा रोजीना पाण्डे, पत्रकारहरुको विषयमा दिपीन राईले सुझाव राखेका थिए ।

राखिएका सुझावमा सभामुख घिमिरेले अहिले छुट्टिएको बजेटबाट देखिएका समस्यालाई समाधान गर्न सकिएन भने पनि प्रत्येक सांसदलाई आफ्नो क्षेत्रमा प्रदान गरिने ५ करोड रकम विचाराधिनमा रहेको हुँदा त्यो फुकुवा भएमा समस्यामा मल्हम पट्टी लगाउने आश्वासन दिए ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा संविधानसभाका सदस्यद्वय प्रेम गिरी, भक्तबहादुर खपाङ्गी, पूर्व उपप्रमुख कमला आचार्य, प्रमुख कार्यकारी अधिकृत त्रिलोचन रिमाल लगायतको आतिथ्य रहेको थियो ।

नगर उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रमको सहजीकरण केशव ढुंगेलले गरेका थिए ।