भरपर्दो उपचारको केन्द्र बन्दै शंकर अस्पताल « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

भरपर्दो उपचारको केन्द्र बन्दै शंकर अस्पताल


यलम्वर टाइम्स
२० आश्विन २०८०, शनिबार ०१:४७

अर्जुनधारा । बजारमा डेंगु परीक्षण गर्दा लाग्ने शुल्क एक हजारदेखि एक हजार पाँच सयसम्म लिने गरेका छन् तर, अर्जुनधाराको पुरानो अस्पताल शंकर अस्पतालमा ६ सय मात्र लिने गरेको पाइन्छ ।

डेंगुमात्र होइन, यसअघि आम मानिसलाई आइपरेको कोरोना महामारीमा पनि शंकर अस्पतालले धेरैको ज्यान जोगाएको थियो । सरल रुपमा उपचार गर्न सफल शंकर अस्पताल अर्जुनधारा क्षेत्रको लागिमात्र होइन, माई नगरपालिका, बुद्धशान्ति र इलाम माङसेबुङ क्षेत्रबाट पनि आउने गरेका छन् ।

अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर सन्तोषकुमार यादवका अनुसार सस्तो छरितो र प्रभावकारीताका लागि हामीले गरेको सेवाबाट धेरै नागरिकहरु विश्वासठानी आउने गरेको बताए ।

विशेष गरी भाइरल ज्वरो, सामान्य दुर्घटना र छाती, पेट साथै सामान्य शल्यक्रियाका लागि महंगो अस्पतालमा गएर अत्याधिक रकम खर्चिनु नपरोस् भन्ने उद्देश्यले सेवा प्रदान गरेका छौं, डा. यादवले भने । उनका अनुसार नसकिने र उपचारमा समस्या बढी भए समाधानको बाटोहरु पनि बताइदिने गरिन्छ ।

अस्पतालका प्रबन्धक सुजन शिवाकोटीका अनुसार शंकर अस्पताल असहायहरुको साथी बनाउन खटिरहेका छौं । जनताको लागि भिडियो एक्स–रे, एक्स–रे, रगत परीक्षण र सामान्य शल्यक्रियाको लागि सेवा गर्न २४ सैं घण्टा अस्पताल खुला रहेको बताए ।

रोगलाई औषधीले थिच्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम हुने उपाय अन्तर्गत योग अभ्यास, दुर्घटना न्यूनिकरण र रक्तदान कार्यक्रम समेत गर्दै आएको प्रबन्धक शिवाकोटीले बताए ।

उनका अनुसार अस्पताललाई यहाँसम्म ल्याउन स्थानीय गाउँबासी र सहयोगीको अहम् भूमिका रहेको पनि बताए । अस्पतालबाट गाइनो, बालरोग र फिजिसियनको भरपुर सेवा रहेको छ । अस्पतालमा ४ डाक्टर, २ नर्स र ४ सीएमएले निरन्तर सेवा प्रदान गर्दै आएका छन् ।