सुतेको सिंह नजिस्क्याउन नेता बस्नेतको चेतावनी « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

सुतेको सिंह नजिस्क्याउन नेता बस्नेतको चेतावनी


यलम्वर टाइम्स
२५ आश्विन २०८०, बिहीबार ११:४२

अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले सुतेको सिंहलाई नजिस्क्याउन चेतावनी दिएका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधाराको अधिवेशन उद्घाटन गर्नुअघि पहिचान पक्ष र केही समूहले कालो झण्डासहित होसियारका नारा लगाएपछि नेता बस्नेतले स्टेजमार्फत यस्तो गर्जन गरेका हुन् ।

नेता बस्नेतले युवा देशको ढुकढुकी मात्र होइन गल्ती गर्नेलाई दिशा निर्देश गर्ने शक्ति भएको हुँदा नजिस्क्याउन चेतावनी दिए ।

मुलुक संकटमा गुज्रिएको मुख्य दोष भाउजु जोगाउनेहरुले लिनुपर्ने बताउँदै एमाले बाहेक कुनै दल मुलुकको विकासमा लायक नभएको हुँदा माधवकुमार नेपाल लगायतका नेताहरुलाई कठघरामा ल्याई भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा विशेष अतिथि युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवेले युवाको रक्षा देशको सुरक्षा युवा बाहेक अरुले गर्न नसक्ने बताए । पहिचान पक्षका बारेमा कुनै सम्बोधन नगरी अध्यक्ष थेवेले देशलाई सुशासनमा लैजान युवा बाहेक अर्को शक्ति नभएको जोड दिए ।

कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले राष्ट्रिय राजनीतिमा चौतर्फी ध्रुवीकरण बढिरहेको बेला नेपाली जनताले सुशासनको अनुभूति गर्न नसक्ने अवस्था आएको बताए ।

अध्यक्ष कार्कीले पहिचान हामी सबैको एउटै माग भए पनि संविधानको धारा अनुसार राज्य सञ्चालन गर्दा मन नपर्ने व्यक्तिहरुले जे इच्छा गरे पनि त्यो इच्छा व्यक्ति विशेष भएको बताए ।

प्रहरीको साथ र युवा शक्तिहरुको पहराबाट स्टेज पुगेका नेता बस्नेत र थेवेका विरुद्ध पहिचानवादीहरुले कालो झण्डा देखाउँदै पहिचानवादी शक्ति एक भएको सन्देश दिए ।

नेता बस्नेत बोल्दै गर्दा पहिचानवादी तथा केही युवाहरुले नारा जुलुस र ढुंगामुढा गरेका थिए भने ति युवाहरुलाई सशस्त्र प्रहरी, जनपथ प्रहरीले लखेटेका थिए ।

नारा जुलुसमा नेताको गाडी तोडफोड गर्नका साथै केही सामान्य घाइते भएका छन् । एक प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

स्टेजमा समेत नेता बस्नेतलाई पहरा दिएर बसेका प्रहरी र युवा संघका कार्यकर्ताले कार्यक्रमपछि निकै कडा सुरक्षाका साथ गन्तव्यतर्फ पठाएका छन् ।

कार्यक्रम युवा संघ अर्जुनधाराका अध्यक्ष सुरेन्द्र राईको सभापतित्वमा भएको थियो ।