रुपान्तरण अभियानले कार्यकर्ताहरुको मन उज्यालो पार्दैछौंः अध्यक्ष नारद दुःखी « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

रुपान्तरण अभियानले कार्यकर्ताहरुको मन उज्यालो पार्दैछौंः अध्यक्ष नारद दुःखी


यलम्वर टाइम्स
३० आश्विन २०८०, मंगलवार ११:२३

अर्जुनधारा । नेकपा माओवादी केन्द्रले चालेको अभियानले नयाँ तथा पुराना कार्यकर्ताहरुसँग जोडिन पुगेको पार्टीका अर्जुनधारा नगर अध्यक्ष नरबहादुर तामाङ (नारद दुःखी)ले बताएका छन् ।

जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने तीन महिने पार्टी रुपान्तरण अभियान अन्तर्गत अर्जुनधारा क्षेत्रमा अभियान सुरु गर्दा पुराना कार्यकर्ताहरु खुसी भएको र नयाँ राजनैतिक चेत बोकेका सहकर्मीहरुसँग जोडिदै आएको बताए ।

माओवादी केन्द्रले भ्रष्टाचारी, दलाल र अकुत सम्पत्ती आर्जन गरेका व्यक्तिलाई प्रहरीमार्फत कारवाही अगाडि सारेपछि गाउँका जनता प्रचण्ड सरकारले थालेको कामप्रति सन्तुष्टि भएको पनि पार्टी नगर अध्यक्ष तामाङले प्रतिक्रिया दिए ।

के तपाईको पार्टीले अर्जुनधारामा थालेको रुपान्तरण अभियान सफलताको दिशामा जाँदैछ त ? भन्ने प्रश्नमा अध्यक्ष तामाङले भने, ‘चुनावपछि माओवादीको मन भाचिएको थियो । एकले अर्कालाई हेर्ने दृष्टिकोण फरक हुँदै जाँदै थियो । तर यो अभियानले मन जोड्दैछ । पार्टीलाई सल्लाह, सुझाव दिँदै हुनुहुन्छ । निराश भएका कार्यकर्ताहरु सक्रिय रुपमा अगाडि आउँदै हुनुहुन्छ । चासो व्यक्त गर्नुभएको छ । एक प्रकारले सफलता नै भएको महशुस गर्छु ।’

‘हेर्नुहोस्, यो अभियान ९ वर्ष अगाडि चलेको भए, पार्टीको आफ्ना कमी कमजोरी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई छलफल मार्फत जोडेका भए हाम्रा पुराना कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दैनन् थिए होला । निराश हुँदैन थिए होलान्’ तामाङले भने, ‘अनि ०७९ को चुनावको परीणाम जस्तो हुँदैन थियो होला । तर पार्टीले बहुमतपछि सत्तामा रमाउने, सिंहदरबार र पेरिषडाँडा नछाड्ने अध्यक्ष तथा पार्टीका नेताको पछिपछि हिंड्नाले हाम्रो पार्टी कमजोर हुँदै आएको हो ।’

यो कसैलाई लुकाउनु पनि छैन, ढाट्नु पनि छैन यस्तो दुखद परीणाम आउनुको कारण महशुस गरेर नै अभियान सञ्चालन गरेको हो, उनले आफ्नो भनाई राख्दै प्रस्ट पारे ।

अर्जुनधारा नगरको कुरा गर्दै भने, ‘पार्टी खिईदै गइसकेको थियो, जब हामी अभियानमा पुग्यौं, घरदैलो र कार्यकर्तासम्म छलफल गर्यौं पार्टी त रहेछ भन्ने लाग्यो । त्यसैले अहिले माओवादीलाई आशा जागेको छ । रुपान्तरण अभियानले शक्ति प्रदान गरेको छ ।’

रुपान्तरण अभियानमा मात्र पार्टी सीमित होला भन्ने प्रश्नमा अध्यक्ष तामाङ भन्छन्, पहिलो पटक यो तीन महिना छलफल, बहस र भेटघाटमै व्यस्त रहनेछौं । यो समयावधिभित्र पार्टीले गरेका राम्रा नराम्रा कामको विषयमा छलफल गर्दै जानेछौं । राम्रा काम भएको सन्देश सुनाउनेछौं । त्यसपछि केन्द्रीय समितिले फेरि कार्यक्रम ल्याउने छ । त्यसपछि जनताका भनाई, गर्नुपर्ने काम र देशलाई सुशासनमा डोहोर्याउने विधिका विषयमा पार्टीलाई जानकारी गराउनेछौं ।

तपाईको पार्टी पहिचान विरोधी देखियो नि ? भन्ने प्रश्नमा आफूहरु पहिचानको पक्षमा रहेको बताए । उनले भने, ‘हामी पहिचानको पक्षमा छौं । पहिचानलाई टेकेरै हाम्रो पार्टी यहाँसम्म आएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रै पार्टीको बलले ल्याएको हो भन्न सक्छौं । हजारौं सपुतले ज्यानको आहुति दिएर आएको गणतन्त्रमा पहिचानलाई बिर्सिएमा गणतन्त्र अपुरोरहने भएको हुँदा प्रदेश नं. १ पहिचानमा आधारित नाम रहनेछ ।’

हाम्रा पार्टीका श्रदेय अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कोशीमा मत जाहेर गर्नु रहर नभएको बताउनुभएको छ । उहाँले अब कोशीको पक्षमा पनि छैनौं । त्यसैले हामी ऐतिहासिक सभ्यताको आधारमा प्रदेशको नाम रहने विश्वास दिलाउन चाहन्छु भनी सार्वजनिक रुपमा नै भन्नु भएको छ र म पनि त्यही विश्वास दिलाउन चाहन्छु, अध्यक्ष तामाङले भने ।

अन्त्यमा सद्भाव र एकताको पर्व वडादशैं भित्रदै गरेको यो अवस्थामा नगरबासीहरुमा एकता, भाईचारा, सद्भाव र मिलनका लागि शुभकामना तपाईको पत्रिकामार्फत भन्न चाहन्छु, उनले भने ।