ओझेलमा पारिएका कुशल प्रशिक्षक चन्द्र लाफा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

ओझेलमा पारिएका कुशल प्रशिक्षक चन्द्र लाफा


यलम्वर टाइम्स
१ कार्तिक २०८०, बुधबार ११:४८

[पुरुषोत्तम पौडेल]

फिटनेश क्षेत्रमा लाफा आईडु नामले आफ्नो परिचय बनाएका चन्द्र राना मगर एक कुशल खेलाडीसँगै प्रशिक्षकका नामले चिनिन्छन् ।

राज्यले ठूलाठूला खेल प्रतियोगिता गर्दै लाखौं लगानी गरिरहेको बेला २०५३–५४ साल तिर लाफाले आफ्नै थातथलो अर्जुनधारामा केन्जीङ जीम हाउस खोलेर फिटनेश खेल अर्थात् शारीरिक सुसंगठन प्रतियोगितामा सहभागि हुँदै खेलाडी उत्पादन तिर लागे ।

उनी २०५५ सालमा ५५ केजी तौल समूहमा मेचीको चम्किला खेलाडीका रुपमा छाप छाडीसकेका थिए ।

उनले सञ्चालन गरेको केन्जीङ जीम हाउसमा मूख्यमन्त्री भइसकेका उद्धव थापा, समाजसेवी जनार्दन उप्रेती र राष्ट्रिय खेलाडी तुल श्रेष्ठ पनि आउने र सिक्ने गर्थे ।

थापा र उप्रेती लगायत शरीर फिटनेश राख्न आउने गर्थे भने श्रेष्ठ लगायत अन्य युवाहरु शारीरिक सुसंगठन जस्तो प्रतियोगितामा सहभागि हुने उद्देश्यले सिक्न आउने गर्थे ।

झापा अर्जुनधारा–७ किराँत चोक निवासी चन्द्र राना मगर श्रीमती कल्पना र एक छोरा, २ छोरीका पिता हुन । स्व. इन्द्रबहादुर र स्व. हर्कमायाको कोखबाट जन्मेका लाफा उमेरले ४५ पार गरे पनि फिटनेशका कारण सधैं लक्का जवान जस्ता देखिन्छन् ।

उनी हाल झापा बिर्तामोड पश्चिम बस स्टेण्डमा रहेको ग्यालेक्सी फिटनेश सञ्चालक भएर थुप्रै खेलाडी उत्पादन गरिसकेका छन् ।

उनको फिटनेश सेन्टरबाट उमेश राई, ललित धिमाल लगायतले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पदक भित्र्याउन सफल भएका छन् भने शारीरिक सुसंगठनको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा कहलाउन सफल पनि भएका छन् ।

भारतको राजस्थानबाट राष्ट्रिय रेफ्रीको रुपमा सर्टिफाइट भई काम गर्दै आएका लाफा ओझेलमा पारिएका कुशल खेलाडी हुनभन्दा फरक पर्दैन । उनले उत्पादन गरेका खेलाडी विभिन्न क्षेत्रमा कार्यरत छन् ।

फिटनेश आफैमा स्वास्थ्य खेलको रुपमा परिचित छ । युवा होस् या वयस्क शरीरलाई तन्दुरुस्त राख्ने मात्र होइन मस्तिष्कलाई पनि फिट राख्ने लाफा बताउँछन् ।

उनका अनुसार कुलतमा फसेकाहरुलाई खेलमार्फत योग्य नागरिक बनाउन पनि फिटनेशले ठूलो मद्दत गर्ने गर्छ । लाफा भन्छन्, ‘गाउँ, जिल्ला र राष्ट्रका लागि योगदान दिएको छु जस्तो लाग्छ । तर सम्मान र हौसला कतैबाट नमिल्दा दुःख लागेर आउँछ ।’

जोशिला र हँसिला स्वाभावका लाफा लगायत उनका टिमले जिल्ला र प्रदेशस्तरीय बडिबिल्डिङ प्रतियोगिता गराईसकेका छन् भने राष्ट्रियस्तरीय प्रतियोगिता सञ्चालनको अभियानमा जुटेको बताउँछन् । यस्ता प्रेरणादायीक व्यक्तित्वलाई राज्य चिन्न नसक्नु दुःख कै कुरा हो ।