परदेशसँगै परदेशीएको दशैं « Yalambar Times
९ असार २०८१, शनिबार

परदेशसँगै परदेशीएको दशैं


यलम्वर टाइम्स
३ कार्तिक २०८०, शुक्रबार ०६:३८

[अर्जुन राई]

कोरिया छिरेको पनि लगभग ६ बर्ष भईसकेछ । मास्टर डिग्री पढ्न भनेर घर छोडेर राजधानी लागेको म कोरियाली भाषा परीक्षा (ईपीएस) पास गरेर कोरिया जाने रहर बोकेको जमातको लहरभन्दा भिन्न रहन सकिनँ । डिग्री पढ्न काठमाण्डौ जाने मेरो ईच्छालाई घरमा पापा आमाले हुँदैन, न जा भनेर भन्नुभएन । घरको अवस्था जे जस्तो भए पनि बरु ऋण नै काढेर मलाई काठमाण्डौमा पढाउने अठौट गर्नुभयो । अनि त्यसपछि म काठमाण्डौको पुतली सडकमा रहेको शंकरदेब क्याम्पसमा भर्ना भएँ ।

त्यति बेला ईपीएस परीक्षा हुने हल्ला चलिरहेको थियो । केही साथिहरुसँग क्याम्पस नजिकैको प्रदर्शनी मार्गमा रहेको विश्व भाषा क्याम्पसमा पनि कोरियाली भाषाको पहिलो सेमिस्टारमा भर्ना भएँ । अलिक पछिबाट त दिउँसो बालुवाटारको सेजोङ एकेडेमीमा समेत भाषा पढ्न थालेँ । दुइटा नाउँमा खुट्टा राख्दा डुबिन्छ भने झैं न मेरो कलेजको पढाई राम्रो भयो न त भाषाको नै । दुबैमा म असफल भएँ । कलेजको पहिलो बर्षको परीक्षा पनि राम्रो भएन अनि भाषाको परीक्षामा त झन् मात्र एक अंकले फेल हुन पुगेँ । यो कुराले झन् धेरै पीडा भयो । त्यसपछि केही समयको अन्तरालमा मास्टर दोस्रो बर्ष पढ्दा पढ्दै काठमाण्डौ छोडेर घर झापा गएँ । अनि बिर्तामोडमा लिकर सपमा लेखापालको काम गर्न थालेँ । फेरि अर्को साल सन् २०१४ मा धरान गएर ईपीएस परीक्षाको फाराम भरें । तयारी राम्रो नभएकोले फेरि पनि परीक्षामा फेल भएँ । अब चाहिँ यसरी भएन भनेर २०१५ मा भने मिहेनतका साथ राम्रोसँग तयारी गरेर परीक्षा दिने निधो गरेँ । अन्ततः यो पटक भने सफल भएँ, मैले ईपीएस परीक्षा पास गरें ।

सबै प्रक्रियाहरु पूरा गरेर प्रतीक्षा गर्दा बल्ल दुई बर्षपछि कोरिया आईपुगेँ । सपनाको देश आइपुग्दा मन फुरुङ्ग थियो । यहाँको प्राकृतिक हराभरा वन जङ्गल, पहाड नेपालको भन्दा खासै फरक लागेन, उत्तिकै सुन्दर लाग्यो । मानिसहरु पनि हाम्रै नेपाली राई, लिम्बू, मगर, तामाङ, गुरुङ, शेर्पासँग मिल्दा जुल्दा लगभग उस्तै देखिने । उनीहरुको कामप्रत्तिको लगनशीलता देखेर म अचम्मित भएँ । काम सारै मिहेनतका साथ गर्ने अनि छिटो पनि उस्तै गरि गर्ने । हामी नेपालीहरु ३ जनाले गर्ने काम कोरियन एक्लैले गर्न सक्छन् जस्तो लाग्यो । अनि अर्को राम्रो लागेको कुरा यहाँको मानिसहरुको अनुशासन । एकले अर्कालाई असर पर्ने कुनै पनि काम गर्दैनन् । अलिकति केही सानो गल्ती भइहाले पनि माफी माग्छन् । सबै जना नियम कानूनमा बस्छन् । आफ्नो काम गरिरहन्छन्, अरुको चासो गर्दैनन् । कामलाई धर्म मान्छन् अनि कामलाई नै पूजा गर्छन् । त्यसैले त आज कोरिया अति विकसित देशहरूको सूचीमा सूचीकृत छ । कोरियाको बिकास क्रमलाई हेर्दा कुनै जमानामा नेपालले कोरियालाई सहयोग गरेको थियो भन्ने कुरा दन्त्य कथा जस्तो लाग्छ ।

हाम्रो कम्पनी सानो कम्पनी रहेछ । साहु, साहुनी, मेनेजर साब मसँगै आएको साथी राजन अनि हामीभन्दा अगाडिदेखि काम गरिरहनु हुने रबि दाजु र साथी नारायण हुनुहुदो रहेछ । म पहिलो चोटि परदेश आएको भए पनि उहाँहरु सहयोगी र मिजासिलो भएकोले एक्लोपनको महसुस खासै भएन । हामीलाई काम सिक्न त्यस्तो सकस पनि परेन तर पहिलो पटक देखेको मेसिन भएकोले काम सिक्न थोरै बढी समय चाहिँ लाग्यो । सुरु सुरुमा भाषाको कारण र काम बिग्रिदा साहु बा र मेनेजर साबको खुब गाली पनि खाइयो । त्यसरी गाली खादा काम सकेर कोठामा आएर घर सम्झेर रोएको पनि छु । परदेशमा दुःख गरिरहदा घर परिवार आफन्तहरुको एकदम धेरै याद आउने रहेछ । घरमा हुँदा काम गर्न अल्छी लागे काम गर्दिनँ भनेर घुर्की लगाएको यहाँ बिरामी हुँदा पनि औषधि खाएर घिस्रिदै काममा जानु पर्दा नमज्जाले याद आउने रहेछ । पापा आमालाई कत्तिको सताएको रहेछु भन्ने कुराको महसुस सात समुन्द्र वारी आएपछि पो थाहा भयो ।

कोरियामा पैसाको बोट छ भनेर सोच्ने हामीहरुले यो पनि सोच्नु पर्ने रहेछ कि पैसाको बोट त छ तर काडैँ काडाँ भएको । त्यो काडाँले कति घोच्छ अनि कति घाऊहरु बनाउने पनि रहेछ । मेसिनको काम गर्दा मेसिनसँगै मेसिन जस्तै भएर गर्नुपर्ने कामको पीडा व्यक्त गर्न अलिक गारो पनि हुने रहेछ । हामी परदेशीलाई अझ गारो त चाडबाडमा पो हुने रहेछ, परिवारको यादले गाउँ घरको यादले अनि साथी भाईहरुको यादले । त्यही माथी एउटै देशमा रहेर पनि आफ्नै दाजुको हातबाट दशंैमा टीका लगाउन नपाउदा अनि तिहारमा बहिनीलाई भेट्न जान नपाउँदा त बेला बेला यो चाडबाड यो दशैं तिहार पनि किन आएको जस्तो लाग्ने रहेछ । तर के गर्नु ! अर्काको देश परदेशी जीवन । कामले गर्दा बाध्यताले गर्दा चाडबाड भन्न पनि नपाईने रहेछ । त्यसैले आजकल धेरैपछि बहिनी भेट्दा पनि तिहारै आएजस्तो लाग्छ अनि दाजुहरु भेट्दा दशैं । तर जे जति दुःख पीडा भए पनि कम्पनीका अहिलेका साथिभाईहरु राजन, सल्लामा, बिमल, कपिल, मदन एकदम मन मिल्ने र रमाईला खालका छन् । हामी एउटै परिवार जसरी मिलेर बसेका छौं । उनीहरुको साथ अनि आत्मीयताले न्यास्रोपन र एक्लोपनको आभास हुने मौका पाएको छैन ।

दुई बर्ष अगाडि भने साथी देबेनको दाजु हरि दाजुको हातबाट परदेशी भूमिमा ४ बर्षपछि दशैंको टीका लगाएको थिएँ । निधारमा टीका, कानमा जमारा, हातमा दक्षिणा अनि थाल मासु, सेलरोटी र अन्य विभिन्न मीठामीठा परिकारले भरिएको थियो । खानपिनपछि नाच गान पनि गरेका थियौँ । साच्चै नै त्यो दशैं निकै रमाइलो साथ मनाएका थियौं । त्यो अवसरको लागि त्यो निम्तोको लागि साथी देबेनलाई फेरि पनि धन्यवाद सहित सम्झिन चाहन्छु । नत्र अरु बेलाको हाम्रो दशैं भनेको त मेसिनको आवाजसँगै सुरु हुन्छ । जमारा राख्ने दिन घटस्थापना, फुलपाती, अष्ठमी, नवमी अनि टीका लगाउने दिन बिजया दशमी । हामी परदेशीहरु सधैं मेसिनसँगै दशैं मनाउछौ । मेसिनको ट्याँ… ट्याँ…. आवाजलाई आशिष भनेर मन बुझाउछौ अनि तलबलाई दक्षिणा । कहिले काहीँ काम गर्दा गर्दै लडियो भने गाउँमा पिङ खेल्दा खुट्टा चिप्लिएर लडेको सम्झिएर मन बुझाउन बाध्य हुन्छौं । परदेश भनेको यस्तो देश रहेछ जुन देशमा जिन्दगीको रेश भनेर कुद्दा कुद्दै कुन दिन नराम्रोसँग ठेस लागेर हाम्रो शरीर सेतो भेषमा सुसज्जित भएर आफ्नै स्वदेश केवल अवशेष मात्र पुग्नेछ । त्यसैले मनमा जे जस्ता दुःख पीडा भए पनि सुरक्षित साथ काम गरौं । आफ्नो स्वास्थ्यको सधैं ख्याल राखौं अनि यहाँको सीप सिकेर सकुशल साथ स्वदेश फर्केर आफ्नै माटोमा मिहेनतको पसिना बगाऔं । २०८० सालको दशैंको सबैलाई शुभकामना ।