मस्तिष्क घातका कारण अस्पतालमा छटपटिदै संजोग, परिवारबाट सहयोगको अपिल « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

मस्तिष्क घातका कारण अस्पतालमा छटपटिदै संजोग, परिवारबाट सहयोगको अपिल


यलम्वर टाइम्स
१५ कार्तिक २०८०, बुधबार १२:३४

बिर्तामोड । अभावमा छटपटिएको जो कोहीको जीवन अस्वास्थका कारण उठ्न नसक्ने भएपछि आर्थिक सहयोग माग्नुपर्ने अवस्थाले नेपालीलाई निक्कै पिरोल्दैछ ।

यस्तै अवस्था भएको छ ३० वर्षीय संजोग थापा मगरको । उनी वैदेशिक रोजगारबाटै अस्वास्थ भई फर्केका थिए ।

बिहान बेलुका चुल्हो बल्न धौं–धौं भईरहेको बेला संजोगको एक्कासी ब्रेन हेमोरेज (मस्तिष्क घात) भएपछि उपचारमा चरम आर्थिक अभाव भएको छ ।

मेचीनगर १० सामान्य परिवारमा जीवन गुजारा गरिरहेका संजोगका बुबाआमा र छोरीले सहयोग जुटाइदिन सबैमा अनुरोध गरेका छन् ।

बुधबार अस्पताल परिषरमा गरिब हुन त भगवानले वरदान दिएको होइन तर भईदियो यस्तै, स्वदेशमा कुनै रोजगारको बाटो नबनेपछि छोरो विदेशीयो । विदेशमै अस्वास्थ भएपछि घर आउन बाहेक अर्को विकल्प थिएन । आज अस्पतालको सैयामा उपचारको खोजी गरेको आफन्तले बेदना पोखे ।

गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका उनलाई पन्ध्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका वरिष्ठ सुपरभाइजर दिपेश भट्टराईले संजोगको हालसम्मको उपचारको बक्यौता पाँच लाखभन्दा धेरै भइसकेको बताउनुभयो । हाल संजोग आइसीयु कक्षमा छन् ।

उनको टाउकाको शल्यक्रिया भइसकेको र पैसा खोजेर ल्याउने पहल भइरहेको छ भनेर आफन्तले भनेको आधारमा अत्याधिक उधारोमा पनि उपचारमा कुनै कमी आउन नदिएको भट्टराईले बताए ।

मलेसियामा रोजगार गरेर गत वर्ष फर्किदा संजोग विरामी नै थिए । उनको लिभरमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो । घर चलाउनै आर्थिक संकट परेपछि संजोगकी पत्नी लक्ष्मी थापा मगर दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् । उनीहरुको दुई सन्तान छन् । छोरी ९ वर्ष र छोरा ७ वर्षका छन् ।

संजोगका वुवा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । उनी शारीरिक रुपमा अशक्त बनेका छन् । आमा पनि विरामी नै छन् ।

‘घरको आर्थिक अवस्था ज्यादै दयनीय छ,’ संजोगका भिनाजु थमबहादुर तामाङ भन्छन्–‘अहिलेसम्म ऋणपान र आफन्त गुहारेर केही रकम अस्पतालमा डिपोजिट गरेका छौं । अस्पताल व्यवस्थापनले अरु पैसा जम्मा नगरी उपचार अघि बढाउन गाह्रो हुन्छ, छिटो पैसा खोजेर ल्याउनु पर्यो भनिरहेका छन् । हामीसँग पैसा निकाल्ने अब कुनै उपाय बाँकी छैन ।’

संजोगका वुवा राजेन्द्र थापा र र आमा दिलमाया थापाले अस्पताल परिसरमै आज दिउँसो पत्रकारहरुसँगको भेटमा उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक आह्वान गरेका छन् । आमा दिलमाया थापा मगरले भनेकी छन्–‘बुढेशकालको सहारा बन्ला भनेको छोरा बिरामी पर्यो । दया गरेर सहयोग गरिदिए उसको प्राण बच्ने थियो ।’

बीएन्डसी अस्पतालको न्यूरोलोजी विभागले संजोगको ब्रेन हेमरेज र लिभर रोगको उपचार भइरहेको जनाउँदै उपचारमा सहयोग गरिदिए आभारी हुने जनाएको छ ।

मेचीनगर–१० का डेभिड शिवाकोटीले संजोगलाई बचाउन गाउँमा चन्दा संकलन अभियान सुरु गरिएको जानकारी दिए । ज्यालादारी काम गर्दै आएका संजोगको परिवारको अन्य आयस्रोत नभएकाले सबैसँग आर्थिक सहयोगका लागि अपिल समेत गरिएको शिवाकोटीले बताएका छन् ।

संजोग बचाउ अभियानमार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । इच्छुक दाताहरुले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने स्थानीय सांगे शेर्पाले बताए ।

बैंक खाताको विवरण :
बैंक : ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा
खातावालाको नाम : थमबहादुर तामाङ
खाता नं. : ०२३०७०१०१२४९५९