यायोक्खा अर्जुनधारालाई भवन निर्माणका लागि ७ लाख सहयोग, मुन्धम पार्कमा वाबुङ धारा बनाइने « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

यायोक्खा अर्जुनधारालाई भवन निर्माणका लागि ७ लाख सहयोग, मुन्धम पार्कमा वाबुङ धारा बनाइने


यलम्वर टाइम्स
१० मंसिर २०८०, आईतवार ०९:१८

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधाराको भवन निर्माणका लागि अर्जुनधारा–११ निवासी मनोज वान्तावा राईले नगद रु. २ लाख प्रदान गरेका छन् ।

यायोक्खा अर्जुनधाराले दोमुखा स्थित भुरुङ्गामा आयोजना गरेको वनभोज कार्यक्रममा उपस्थित राईले अध्यक्ष विजय साम्पाङ राईलाई नगद हस्तान्तरण गरेका हुन् ।

हाल अमेरिका निवासी राईले २ लाख रुपैयाँ अभिषेक राईको अगुवाईमा किराँत राई यायोक्खा यूएसएबाट संकलन गरि पठाइएको जानकारी गराउँदै भवन निर्माणका लागि व्यक्तिगत रुपमा थप ५ लाख प्रदान गर्ने वचन दिएका थिए ।

सोही अवसरमा यायोक्खाले दाता मनोज राई र यूएसए यायोक्खा परिवारलाई सम्मान गरेको थियो ।

अध्यक्ष विजय साम्पाङ राईको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार क्या. शिवकुमार राई, अग्रज पत्रकार दिपीन राई लगायतले आफ्नो जाति, संस्था र जन्म भूमिको लागि देखाएको अपार माया र सहयोगको लागि धन्यवाद प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन भने सचिव सिंहबहादुर राईले गरेका थिए ।

यस्तै सालबारी स्थित साकेला थान परिषरमा बन्दै गरेको मुन्धुम पार्कलाई थप आर्कषक बनाउनका लागि अर्जुनधारा–४ निवासी समाजसेवी सहयोगी मीना राईले रु. ५० हजार सहयोग प्रदान गरेको यायोक्खाले जनाएको छ ।

यायोक्खा सचिव सिंहबहादुर राईका अनुसार मुन्धुम पार्कमा वाबुङ धारा (चिन्डोको ढुंगेधारा) निर्माण गरी पार्कलाई थप सुन्दर बनाइनेछ ।