ऋण मिनाहको हल्ला निराधारः सहकारी अभियान्ता « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

ऋण मिनाहको हल्ला निराधारः सहकारी अभियान्ता


यलम्वर टाइम्स
११ मंसिर २०८०, सोमबार ०९:२२

अर्जुनधारा । ऋण मिनाहको हल्लाको पछि नलाग्न सोमबार एक सहकारी संस्थाको कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्नो भनाई राखेका थिए ।

अर्जुनधारा शनिश्चरे बजार स्थित आदिवासी जनजाति भवनमा सहनशील महिला बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि नीलाकुमारी दाहालले केही व्यक्तिको हल्लामा ऋण मिनाह हुन्छ भनेर दौडिनु निराधार भएको बताइन् ।

जिल्ला सहकारी संस्थाका लेखा सदस्य समेत रहेका दाहालले श्रीमान–श्रीमती र आफ्नो घर जग्गा छोराछोरीलाई समेत साक्षी राखेर व्यवसाय गर्छु भनी लिएको ऋण विविध कारणले तिर्नमा समस्या आउने बित्तिकै बैंकको ऋण नतिर्ने भन्ने कुरा आउँदैन । बरु समाधानको बाटोहरु खोज्न सकिन्छ ।

महिला चेतना सहकारी संस्थाका अध्यक्ष समेत रहेकी दाहालले अगाडि भनिन्, ऋण सबैलाई हुन्छ, व्यवसाय गर्न पछि हट्नु भएन । कर्म र मिहेनत सँगसँगै लगे ऋण तिर्न सकिन्छ ।’

कार्यक्रममा नगर समन्वय सहकारी संयोजक कृष्ण चम्लगाई, प्रज्वला अपाङ्गका अध्यक्ष डिल्ली घोर्साईले सहकारी जन्मेपछि बोल्न, सिक्न र आर्थिक चलायमानको बाटोमा हिंड्न पाएको बताउँदै ऋण मिनाह हुन्छ भन्ने कल्पना नगर्न आग्रह गरे ।

कार्यक्रममा वाणिज्य संघ अर्जुनधाराका अध्यक्ष इन्दिवर खड्काले शहरका घरहरुले मान्छे बचाउन मद्दत गराउँछ, त्यसरी नै गाउँका घरहरु पनि पर्यटक बस्ने मन लोभ्याउने खालको निर्माण गरेर आन्तरिक पर्यटक बढाउन सहकारी मार्फत आग्रह गरे ।

उद्घाटन सभामा लालीगुराँसका अध्यक्ष चन्द्र सुब्बा, अग्रज पत्रकार दिपीन राई, सल्लाहकार बद्रीप्रसाद ओली आदिले १४ औं साधारणसभाको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन व्यवस्थापक पम्फादेवी विश्वकर्मा, अध्यक्षको प्रतिवेदन कार्यालय सहायक निर्मला राईले वाचन गरेका थिए ।

आर्थिक प्रतिवेदनमा सञ्चालन मुनाफा १७ लाख ११ हजार भएको व्यवस्थापक विश्वकर्माले बताइन् भने आत्मानिर्भरताका थुप्रै कार्यक्रमहरु भएको सहभागीलाई जनाइएको थियो ।

सभामा उत्कृष्ट बाल बचत छेम्बीहाङ राई, उत्कृष्ट ऐच्छिक बचत सुष्मा पौडेल, उत्कृष्ट मासिक बचत प्रमिला राजवंशी, उत्कृष्ट मुद्दती बचत सफिना खान, उत्कृष्ट ऋणी गोपाल विक, उत्कृष्ट विद्यार्थी सौजन सुजी (कक्षा११), विष्णुमाया कोइराला (कक्षा १०)लाई सम्मान गरिएको थियो ।