मृत्यु संस्कारमा एकरुपता आवश्यक « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

मृत्यु संस्कारमा एकरुपता आवश्यक


यलम्वर टाइम्स
१३ मंसिर २०८०, बुधबार ११:३१

[सन्तोष नेम्वाङ]

संस्कार जिउँदो रहे जात रहन्छ । जात रहे स्वभिमान रहन्छ र स्वभिमान जिउँदो रहेमात्र व्यक्तिको अस्तित्व रहन्छ । सदियौंबाट आफ्नो जातलाई स्वभिमान स्वरुप मानेर बाँच्दै आइरहेका छन् । एवम् रीत आफ्नो जात अनुसार आफ्नै संस्कारमा पनि पृथकता हुन्छ । सबै जातका आ–आफ्नो प्रकारको संस्कार हुन्छ । चाहे मृत्यु संस्कार होस् या विवाह व्रतबन्ध वा जन्म संस्कार । आफ्नो पूर्खाहरुले मान्दै आएको संस्कारलाई पछ्याउँनु पुस्ता दर पुस्ताको धर्म अनि कर्तव्य हो । तबमात्र जन्मका साथ पाएको जात रहन्छ । अनि त्यसरी नै जात रहे व्यक्तित्व रहन्छ ।

यो विषय उठानको मुख्य उद्देश्य हामी किराँत धर्म मान्नेहरु राई, लिम्बू मध्ये हामी लिम्बूहरुको संस्कारमा भइरहेको लापरवाहीलाई इङ्गित गरिएको हो । त्यसमा सपनि हिजो मृत्य संस्कारमा भइरहेको लापरवाही भनौं या व्यस्तताका एक नमुना हो । यसरी नै मृत्यु संस्कारमा भइरहेको लापरवाहीलाई निरन्तरता दिइरहे अनन्तकालमा न किराँत धर्म रहन्छ न जात रहन्छ न त हामीले आफूलाई किराँती भनेर गर्व गर्न सक्छौं । हामी लिम्बूहरुको मृत्यु संस्कारमा लोग्ने मासिनको मृत्यु भएमा ४ दिनमा चोखिने (फाराक्लो) गरिन्छ र महिलाको मृत्यु भएमा ३ दिनमा फाराक्लो (नुन तेल छुने) गरिन्छ । त्यसरी फाराक्लो गरे पश्चात नुन तेल खाँदै आफ्नो दैनिकी व्यवहारमा फर्कन्छौं । र आफूलाई पायक पर्ने दिनमा सुध्याई गरिन्छ । यसरी एक वर्षभित्रमा जुनै दिनमा पनि सुध्याई गर्न सकिन्छ ।

तर अहिलेको व्यस्तताको समयमा १३ दिनभित्रमा सुध्याई गर्ने परम्परा पनि चलाउँदै आइरहेको छ । किनभने आजको समय धेरै व्यस्त रहने भएको र पहिलाको रीतिअनुसार राँगा, सुँगुरको मासु प्रयोग हुन छाडेको कारणले आर्थिक भारमा धेरै मितव्ययीता हुन थालेकोले ७ दिन या १३ दिनमा नै सुध्याई गर्न सहज भइरहेको छ । तर विडम्बना आजभोली पुरुष भए ४ दिन र महिला भए ३ दिनमा फाराक्लो गरेकै दिन सुध्याई सम्पन्न गर्ने चलन चल्न थालेको देखिनमा आइरहेको छ । यस्तोमा म एउटा लिम्बू भएको नाताले अहिले ३ दिन र ४ दिनमा सुध्याई सम्पन्न गर्ने कार्यलाई गलत भन्न चाहन्छु र यसको विरोध गर्न चाहन्छु ।

गलत यस कारणले कि हामी सामाजिक प्राणी हौं अहिलेको समयमा एउटा गाउँमा एउटामात्र जातका घर हुँदैन । धेरै थरीका जातका मानिस मिलेर बसेको गाउँ नै एउटा सभ्य समाज बनिएको हुन्छ । त्यो समाजमा रहेको जात मध्येमा सबै जातअनुसारको आफ्नो आफ्नो संस्कार हुन्छ । हरेक जातको संस्कार समाजका अग्रजहरुले निहारी रहेका हुन्छन् । त्यस्तोमा आफ्नो जातमा चलिरहेको परम्परालाई तोडेर नयाँ संस्कार स्थापित गर्न खोज्छ भने समाजका अग्रजहरुले औंला उठाउन बाध्य हुन्छन् । छिमेकीमा कानेखुसी चल्छ । यदि समाजमा विद्वान छन् भने उनीहरुले ती नयाँ संस्कारीहरुलाई समाजबाट पृथक पनि गरिदिन सक्छन् र गर्नु पनि पर्छ ।

यो रह्यो नयाँ संस्कारको एक खराब पक्ष । त्यसमा अर्को खराब कारण भनेको आमाबुबाले आफ्नो सन्तानको जन्म पश्चात कति दुःखले सन्तानलाई हुर्काएका हुन्छन् । आफ्ना आधा उमेर ती छोराछोरीको लालनपालनमा बिताएका हुन्छन् । धेरै पढोस्, राम्रो लगाओस्, अंगभंग नहोस् भनेर सधैं चिन्तामा समय बिताउँछन् । यस्तोमा छोराछोरीको कर्तव्य बनिन्छ कि बुबाआमाको मृत्यु पश्चात पितृको आत्माको शान्तिको लागि नियमानुसार संस्कार गरेर उनीहरुको आत्मालाई स्वर्गमा बास गराउनु हो । न कि बल्ल बुढाबुढी भन्यो, अब जेनतेन गरेर यिनीहरुको संस्कार गरेर आफू फुकुवा हुन्छु भन्ने सोचाई होस् । आजको समय धेरै व्यस्तताको समय हो । यहि व्यस्तता र यहि सोचाईको कारणले गर्दा आज यो स्थिति आइरहेको छ । बुबाआमाले जीवनभर हेरचाह गरेर हुर्काएको छोराछोरीले बुबाआमाको मृत्यु संस्कार धैर्य साथ ७ दिन, ९ दिन या १३ दिनमा काजकृया गर्न सक्दैन र ? के सधै व्यस्तताको पछिमात्र दौडिरहने ? के उनीहरुका बुबाआमाले उनीहरुसँग यही अपेक्षा राखेका थिए होलान् ? कमसेकम आफ्नो बुबाआमाको मृत्यु संस्कार समाजको बीचमा रहेर समाजले पचाउने गरी आफ्नो जातीय परम्पराअनुसारको सुध्याई त गर्न सक्थ्यो होला नि । यदि यही प्रकारको गलत परम्परा निरन्तर चलिरहे भोलि संस्कारको अवस्था कस्तो रहला ? अनि यो पनि हेक्का राख्नु कि आज आफ्नो पितृको मृत्यु संस्कार टालटुले प्रकारले सम्पन्न गरिन्छ भने आफ्नो छोराछोरीले हाम्रो मृत्यु पश्चातको संस्कार कस्तो प्रकारले गर्छन् होला ? त्यसैले आजसम्म जे भयो त्यसलाई भुलेर अब आइन्दा पूर्खाले मान्दै आइरहेको संस्कारलाई अंगालौं । यसैमा हामी किराँतीहरुको भलाई हुनेछ ।

अन्त्यमा हाम्रा किराँती अग्रजहरुलाई सानो सुझाव कि परम्परा हामीले बनाउने होइन । परापूर्वकालबाट चलिआएको परम्परालाई हामीहरुले पछ्याउने हो । परम्परा पछ्याउनका लागि हजुर अग्रजहरुले हामी नयाँ पुस्तालाई डोहोर्याउने हो । यदि हामी यो पुस्ताहरुले संस्कारमा केही त्रुटि गरे तपाईहरुले औंला उठाउने हो । न कि हो मा हो मिलाउने हो । यदि तपाईहरुको सन्तानलाई आजबाटै सही बाटो डोहोर्याउन थाल्नु भएमात्र भोली तपाईको मृत्युमा सही संस्कारअनुसार कृया कर्म हुनेछ । नत्र हामी सधैं राई, लिम्बू मात्र भएर बाँच्न बाध्य हुनेछौं । अनि राई, लिम्बूहरु सधैं जाँडरक्सीको घ्याम्पामा डुबेर आफ्ना सारा सम्पत्ती गुमाएको पितृको सन्तानहरु मात्र भएर रहनेछौं । अग्रज किराँती ज्यूहरु अझैं ढिलो भएको छैन । घरको बलेसी नाघेर बाहिर आउनुहोस् हामी नयाँ पुस्तालाई सही संस्कार सिकाउनुहोस् । बिन्ती छ ।