‘दुःखी आत्मा’मा पुनः दोहोरिदै दया–मिरुनाको जोडी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

‘दुःखी आत्मा’मा पुनः दोहोरिदै दया–मिरुनाको जोडी


यलम्वर टाइम्स
१७ मंसिर २०८०, आईतवार ०९:३५

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी फेरी दोहोरिने भएको छ । नयाँ फिल्म ‘दुःखी आत्मा’मा उनीहरुको जोडी पुनः दोहोरिने भएको हो ।

फिल्ममा दयाहाङ अनुबन्ध भइसकेका छन् । मिरुनासँग भने मौखिक सहमति भइसकेको स्रोतले जनाएको छ । अहिले उनी देशबाहिर रहेकाले नेपाल फर्किएपछि कागजी सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको बताइएको छ ।

दयाहाङसँग सहकार्य हुनुभन्दा अगाडि मिरुनाको करिअर संकटको अवस्थामा थियो । लगातार फिल्महरु असफल भैरहेका थिए । तर, अहिले सफल अभिनेत्रीको सूचीमा उनले आफूलाई उभ्याएकी छन् ।

यस वर्ष उनलाई फिल्मको सेड्युल मिलाउन समेत हम्मे पर्ने देखिएको छ । दयाहाङ र मिरुनाले सम्भवतः आगामी माघमा ‘घरज्वाइँ’को छायांकन गरेपछि ‘दुःखी आत्मा’मा काम गर्नेछन् । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले गर्नेछन् ।

‘कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलतापछि उनीहरु हरेक मेकरको रोजाईमा परिरहेका छन् । उनीहरुले पनि लगातार फिल्ममा काम गरिरहेका छन् । यस वर्षको भदौमा आएको उनीहरु अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ पनि हिट भएको थियो ।

आगामी फागुन २५ गते यही जोडीको अभिनय रहेको फिल्म ‘रङ्गेली’ प्रदर्शन हुँदैछ । ‘घरज्वाइँ’ र ‘लोकल हिरो’मा पनि एकसाथ काम गर्ने तयारीमा रहेका छन् ।