विद्यार्थीहरु किन घट्दै छन् ? « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

विद्यार्थीहरु किन घट्दै छन् ?


यलम्वर टाइम्स
१७ मंसिर २०८०, आईतवार १०:२१

अध्ययन अध्यापनमा गम्भीर समस्या बढ्दै गएको अवस्था विद्यालयहरुमा देखिन थालेको छ । नेपाली जनताका छोराछोरी जेनेतेने कक्षा १० सम्म त पढ्न जान्छन् नै तर ११, १२ कक्षासम्म पुग्दा विद्यार्थीहरु घट्दै जानुले नेपालको शिक्षा क्षेत्रमा चुनौति बढ्दै गएको छ । झापाको अर्जुनधारा नगरपालिकामा मात्र होइन अधिराज्यभरिको विद्यालय तथा क्याम्पसमा यस्तो समस्या बढ्दै गएको हो ।

नेपाली अर्थतन्त्र र खुला शिक्षा नीतिमा समस्या आएपछि विद्यालयमा विद्यार्थी घट्दै गएको विज्ञहरुको भनाइ छ । सरकारी विद्यालयमा स्थानीय, प्रदेश र संघ सरकारले निगरानीसँगै दरबन्दी र सहुलियत सहयोगको व्यवस्था नगरिदिँदा विद्यार्थीलाई आवश्यक वैज्ञानिक शिक्षा नीति अवलम्बन नगरिदिँदा पनि समस्या बढेको हो । अनावश्यक ठाउँमा कार्यकर्ता भर्ती गरेर अध्ययन गराउँदा कस्ता जनशक्ति उत्पादन होला ? त्यतिमात्र होइन भौतिक पूर्वाधार निर्माणमा खर्च छुट्याएर शिक्षाको कस्तो उन्नति होला । आज त्यसैले पनि विद्यार्थीको संख्या घट्दै गएको पाइन्छ ।

अन्य विकसित देशको शिक्षा नीतिलाई हेरौं, कक्षा ५ पढिसक्दा उ आत्मानिर्भर हुन्छ । तर नेपालमा २५ वर्ष अध्ययन गर्दा पनि आलु उत्पादन गरेर खान सक्दैन । कम्प्युटर त चलाउँछ, सिर्जनशील भाषा, शब्द र लेखकीय शक्ति निर्माण गर्न सक्दैन, आत्मानिर्भर त कुरै छाडौं । हामीले पढ्दै आएको शिक्षाले व्यवसायी हुन पनि सक्दैन भने हाम्रो मुलुकलाई कहाँ पुर्याउँछ त ? यस्तै शिक्षा नीति हाम्रो विद्यालयमा लागू भइरह्यो भने हाम्रा नानीहरु खाडी मुलुकमा जान बाहेक अर्को विकल्प छैन । त्यसतर्फ स्थानीय सरकार, राजनैतिक दल चनाखो किन नहुने ? गम्भीर हुन जरुरी छ ।