राजसंस्था सम्झन सकिन्छ, स्थापना हुन सक्दैन « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

राजसंस्था सम्झन सकिन्छ, स्थापना हुन सक्दैन


यलम्वर टाइम्स
२४ मंसिर २०८०, आईतवार ०७:०५

राजा व्युँझाउने र शासन गर्ने खेलामा लागेका दल वा व्यक्तिप्रति एमाले अध्यक्ष केपी शर्मा ओली खरो रुपमा उभिएका छन् । मरिसकेको राजसंस्थालाई पुनः व्युँझाएर त्यसको पछि शासन गर्ने हर्कत कसैले सोच्छ भने त्यो दिवा सपना मात्र हुने तर्क राक्दै आएका छन् । एमाले अध्यक्ष ओलीमात्र होइन नेकपा माओवादी केन्द्र पार्टी पनि राजसंस्था व्युँझाएर तर मारौला भन्ने कुचेष्ठा सोच्न नहुने भन्दै आएको छ । साना दलहरु त राजसंस्था भनेपछि आफूलाई बर्षौदेखि पीडित बनाएको संस्था भनेर बुझेका छन् र विरोध पनि गर्दै आएका छन् ।

दलगत आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने राजसंस्थालाई शीर मान्दै आएको छ । हिन्दू राष्ट्र र राजसंस्था मुख्य एजेण्डा भएको कारण बेला–बेलामा पूर्व राजालाई विभिन्न कार्यक्रममा उभ्याउने गरेको हामी पाउँछौं । त्यतिमात्र होइन राजाका नाम बेचेर चर्चामा आउन खोजेका मेडिकल व्यवसायी दुर्गा प्रसाई पनि राजा–राजा भन्दै हिंडेका छन् । आखेरी राजालाई किन मोहरा बनाइदै छ त ? प्रश्न छ । पूर्व राजालाई केही सम्मान त हुन्छ नै तर व्यक्ति र एकाँध दलले बोक्दैमा राजा पुनः आउछन् भन्ने कुरामा सामान्य मानिस पनि विश्वस्त छैनन् ।

राजसंस्था फ्याँकिए पछाडी राजनैतिक दलले गर्नुपर्ने थुप्रै एजेण्डा जनतामाँझ गर्न नसकेका कारण राजालाई बेला–बेला सम्झने गर्छन् । राजसंस्थालाई सम्झेर दललाई तिरस्कार गर्नु वा धम्क्याउनु केही हदसम्म होला तर राजसंस्था नै फर्किन्छ र राजाले सबै थोक गरिदिन्छ भन्ने दिवा सपना पूरा हुन सक्दैन । दलहरु पनि जनताको भावना र जनअपेक्षा अनुसार काम गर्न नसक्दा आज नेपाली जनता पीडित त्यतिकै छन् । दललाई शीरोपण गरी निर्वाचित भएका जनप्रतिनिधिहरु पनि आफन्तलाई माया गर्ने र अन्य दलका युवा शक्तिलाई तिरस्कार गर्ने परिपाटीले पनि बेला–बेलामा राजाका नाम लिने गर्छन् । चाहे जे होस, राजसंस्था सम्झन सकिन्छ तर स्थापना गर्न निकै गाह्रो हुन सक्छ । त्यसमा सबैको चेतना भया ।